२०८३ असोज २ गते शुक्रवार

बाढी प्रभावितका लागि हाम्रो पहुँच सहकारीद्वारा झण्डै डेढ लाख सहयोग


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले रसुवाका बाढी प्रभावित नागरिकका लागि झण्डै डेढ लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि संस्थाले सामुदायिक विकास कोषमार्फत सहयोग गरेको हो ।

संस्थाका तर्फबाट ५१ हजार रुपैयाँ, कर्मचारीको एक दिनको तलब र सञ्चालक समितिको एउटा बैठकको भत्तासहित कुल १ लाख ४८ हजार ५ सय ५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले बाढी प्रभावित नागरिकलाई केही हदसम्म भए पनि राहत पुगोस् भन्ने उद्देश्यले कर्मचारीहरूले स्वस्फूर्त रूपमा एक दिनको तलब सहयोग गरेको बताउनुभयो । उहाँले कर्मचारीहरूले सामाजिक उत्तरदायित्वबोध गर्दै सहयोग गरेको जानकारी दिनुभयो ।

बाढीका कारण अझै धेरै नागरिक बेपत्ता रहेको र प्रभावितले सहज रूपमा राहत पाउन नसकेको अध्यक्ष भण्डारीले बताउनुभयो । प्रभावित नागरिकको खाने–बस्ने व्यवस्थाका साथै दीर्घकालीन बसोबासको समस्या रहेकाले राज्यले राहतसँगै दीर्घकालीन पुनःस्थापनामा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष भण्डारीले हाम्रो पहुँच सहकारीले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै आएको बताउनुभयो । सामुदायिक विकास कोषमार्फत विपद्मा परेका तथा आवश्यकता भएका नागरिकलाई विभिन्न समयमा सहयोग गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस