२०८३ असोज ६ गते मङ्गलवार

आउँदो शुक्रबारदेखि तीन दिन भारी वर्षाको अनुमान : उच्च सतर्कता अपनाउन दाङ प्रशासनको आग्रह

दाङ। आउँदो शुक्रबारदेखि तीन दिनसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय दाङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागको सूचनाअनुसार बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रका कारण नेपालका धेरै भू–भागमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

दाङमा पनि यस अवधिमा हावाहुरी र चट्याङसहित भारीदेखि अति भारी वर्षा हुनसक्ने चेतावनी जारी गरिएको छ । भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा दाङ भएर बग्ने बबई र राप्ती नदीलगायत नदी तथा खोलामा डुबान र कटानको उच्च जोखिम हुनसक्ने प्रशासनले जनाएको छ ।

जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले अत्यावश्यक कामबाहेक दिउँसो तथा रातिको समयमा यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रमा नजान तथा तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।

यस्तै जिल्लास्थित सरकारी कार्यालय तथा निकायमा रहेका डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न पनि भनिएको छ । त्यस्तै, जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई विपद्को समयमा स्थानीय सुरक्षा निकायसँग नजिकको सम्पर्कमा रही सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

पहिरोको जोखिम तथा नदी बहाव क्षेत्रका स्थानीय तहलाई नदी किनारमा बसोबास गर्ने नागरिकलाई सचेत गराउँदै स्थानीय विपद् व्यवस्थापन समितिमार्फत सम्बन्धित क्षेत्रमा क्विक रेस्पोन्स टिम अर्थात् क्यूआरटी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले विपद्का समयमा सबै सुरक्षा निकाय, स्थानीय तह, क्षेत्रगत क्लस्टर, रेडक्रस तथा सम्बन्धित निकायलाई सक्रिय भई उद्धार तथा विपद् प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ । आमसञ्चार माध्यमलाई समेत विपद् सचेतनासम्बन्धी सामग्री प्रचार–प्रसार गर्न र विपद्सम्बन्धी घटनाको तत्काल सूचना आदानप्रदान गर्न आग्रह गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस