२०८२ मङ्सिर २१ गते आइतवार

तुलसीपुर उपमहानगरको एक्सन : अनुगमन, दर्ता र नविकरण संगसंगै

दाङ। तुलसीपुर उपमहानगरपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । बजारमा हुने अखाद्य वस्तुको बिक्रिवितरण रोक्न र दर्ता बिनै संचालनमा रहेका व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउन उपमहानगरपालिकाले तिब्रता दिन थालेको हो ।

उपमहानगरपालिकाले मंगलबारमात्रै तुलसीपुरको बसपार्क क्षेत्रका फलफूल तथा किराना पसलमा अनुगमन गरेको छ । नगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठको नेतृत्वमा गएको अनुगमन टोलीले व्यवसायको अनुगमनसंगै दर्ता प्रक्रियामा नआएका व्यवसायको दर्ता र नविकरण नगरेको व्यवसायको नविकरण समेत गरेको छ ।

अनुगमन टोलीले मंगलबार १६ वटा पसलको दर्ता तथा नविकरण गरेको छ । जसबाट ८८ हजार ७५० रुपैँया राजश्व संकलन समेत गरिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । उपमहानगरपालिकामा दर्ता प्रक्रियामा नआएका पसल र नविकरण नगरेका व्यवसायीको सहजताका लागि अनुगमनसंगै दर्ता र नविकरण फिल्डमै गरिएको उहाँले बताउनुभयो ।

घरेलु र आन्तरिक राजश्व कार्यालयमा दर्ता भएर मात्र नहुने भन्दै प्रमुख श्रेष्ठले कुनै पनि व्यवसाय उपमहानगरपालिकामा पनि अनिवार्य सुचिकरण हुनुपर्ने बताउनुभयो । उहाँले नगरमा दर्ता नभएका व्यवसायीलाई अनिवार्य दर्ता प्रक्रियामा ल्याउने बताउनुभयो । दर्ता र नविकरणसंगै अखाद्यवस्तुको बिक्रिवितरण र कालोबजारी हुन नदिनका लागि उपमहानगरपालिकाले पछिल्लो समय अनुगमनलाई तिब्रता दिएको छ ।

मंगलबार बसपार्क क्षेत्रका २२ वटा पसलमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा अधिकांश पसल उपमहानगरमा दर्ता बिनै संचालनमा रहेको देखिएपछि तत्काल दर्ता प्रक्रियामा ल्याएको उपभोक्ता हित संरक्षण शाखाका खेमकान्त पाण्डेले बताउनुभयो । अनुगमनको क्रममा अधिकांश व्यवसायीले सटरभन्दा बाहिर फुटपाथमा समेत सामान राखेर व्यवसाय गरेको देखिएको छ । अनुगमन टोलीले फुटपाथमा गरिएको व्यवसाय तीन दिनभित्र हटाउन निर्देशनसमेत दिएको छ ।

अनुगमनका क्रममा तुलसीपुर–५ का कार्यबहाक वडाअध्यक्ष भिमबहादुर केसीले फुटपाथ मिचेर सामान नराख्न व्यवसायीलाई आग्रह गर्नुभयो । उहाँले व्यवसायीले अटेर गरेमा सामान जफत समेत हुने बताउनुभयो । उहाँले फुटपाथमा सामान राख्दा दुर्घटनाको जोखिम हुने भएकाले फुटपाथमा सामान नराख्न आग्रह गर्नुभएको हो । व्यवसायीले पनि फुटपाथमा हटाउने प्रतिवद्धता जनाएका छन् । तर बजारका विभिन्न ठाउँमा फुटपाथमा गरिने व्यवसायका कारण आफूहरु मारमा परेको उनिहरुको गुनासो छ ।

डिमान्ड फ्रुट्स एण्ड कोल्ड जुस सेन्टरका संचालक रिमा योगीले डोको तथा नाम्लोमा गरिने व्यवसायलाई उपमहानगरपालिकाले नहटाउँदा आफुहरुको व्यवसाय धरापमा परेको बताउनुभयो । उहाँले फुटपाथमा गरिने व्यवसाय हटाउन आफुहरुको समेत सहयोग हुने भएकाले उपमहानगरपालिकाले पनि यस्ता कुरामा चासो दिनुपर्ने बताउनुभयो ।

अनुमगन टोलीमा तुलसीपुर–५ का वडा सदस्य भिम बहादुर केसी, तुलसीपुर उपमहानगरपालिका सूचना अधिकारी यज्ञ बहादुर केसी, उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठ, उपभोक्ता हित संरक्षण शाखाका खेमकान्त पाण्डे, राजश्व शाखाका कुन्ता भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई लगायतका सहभागी रहनुभएको थियो । अनुगमन टोलीले बुधबार पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस