२०८२ फाल्गुन २६ गते मङ्गलवार

सिमेन्ट उद्योगका टिपरका कारण कपुरकोट–निगालपानी सडक धुलाम्य, स्थानीयले रोके टिपर

सल्यान । सल्यानको कपुरकोट र रोल्पाको निगालपानी जोड्ने सडक धुलाम्य हुँदा स्थानीयलाई सास्ती भएको छ । सिमेन्ट उद्योगका टिपरका कारण सडक धुलाम्य भएपछि स्थानीय बिहिबारदेखि आन्दोलित भएका छन् ।

स्थानीयले सडकको कालोपत्रे गरिनुपर्ने माग राखेर अहिले सगरमाथा सिमेन्ट र रोल्पा सिमेन्ट उद्योगका टिपर संचालनमा रोक लगाएका छन् । बिहिबार (मंसिर २५ गते) देखि टिपर संचालनमा रोक लगाएको मिलन बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर बिकले रेडियो हाम्रो पहुँचलाई बताउनुभयो ।

उहाँले सडक कालोपत्रे नहुँदासम्म टिपर कुनैपनि हालतमा संचालन हुन नदिने बताउनुभयो । ‘धुलो धुँवा अत्याधिक छ, जसले गर्दा निकै समस्या भएको छ ।’ उहाँले भन्नुभयो–‘अब सडक कालोपत्रे नहुँदासम्म टिपर चल्न दिदैनौ ।’

कपुरकोट–निगालपानी सडक ११ किलोमिटर छ । यस सडकमा सगरमाथा सिमेन्ट र रोल्पा सिमेन्ट उद्योगका टिपर चल्ने भएका कारण सडक ध्वस्त भएको छ । दुवै सिमेन्ट उद्योगले सडक मर्मत गर्ने, बिहान र बेलुका विद्यार्थी आवातजावात गर्ने समयमा टिपर नचलाउने सहमति गरेपनि कार्यान्वयन नगरेको स्थानीयको गुनासो छ ।

सिमेन्ट उद्योगले गरेका सहमति कार्यान्वयन नगरेपछि टिपर बन्द गरेर आन्दोलनमा उत्रिनुपरेको मिलन बजार युवा क्लबका अध्यक्ष झलक वलीले बताउनुभयो । कपुरकोट–निगलापानी सडकमा बजेट परेपनि विभिन्न बहानामा अन्यत्र लगिएको स्थानीयको गुनासो छ ।

कपुरकोट कर्णाली प्रदेशमा पर्छ भने निगालपानी लुम्बिनी प्रदेशमा पर्छ । रोल्पाको पश्चिमी क्षेत्रका अधिकांश नागरिक सल्यानको खलंगा, दाङको तुलसीपुर, नेपालगञ्ज, सुर्खेत लगायतका ठाउँमा आवातजावत गर्न कपुरकोट–निगालपानी सडक नै प्रयोग गर्नुपर्छ ।

तर सडकमा सिमेन्ट उद्योगका ठुला भारबहन क्षमता भएका टिपर चलेका कारण अहिले सडक खाल्डाखुल्डी भएको छ । हिउँदमा धुलो र वर्षामा हिलोको समस्यामा रहेका भन्दै स्थानीयले अहिले आन्दोलनलाई शसक्त बनाउने चेतावनी जारी गरेका छन् ।

संघिय सरकारले यसअघि पनि कपुरकोट–रामपुर सडकका लागि ८ करोड बजेट बिनियोजन गरेको थियो । तर बजेट कार्यान्वयन गर्ने बेलामा कपुरकोटदेखि निगालापानी सडक कर्णाली प्रदेशमा पर्ने भन्दै रोल्पाको निगालपानीलाई नै मूख्य बिन्दु मानेर स्तरोन्नतीको काम शुरु भएपछि यो सडक अहिले अलपत्र अवस्थामा छ ।


कपुरकोट–निगालपानी सडकलाई स्तरोन्नतीको लागि पटकपटक पहल गरेपनि संघ र प्रदेश सरकारका प्राथमिकतामा पर्न नसक्दा स्थानीयले सास्ती पाएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । उहाँले स्थानीयको मागप्रति आफु पनि गम्भिर भएको र सिमेन्ट उद्योगले पनि गरेका सहमति कार्यान्वयन गर्न नसकेको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस