दाङ । ठूलो सभाहल । एकातिर सत्तापक्ष, अर्कोतिर प्रतिपक्ष । अगाडि आशनमा सभामुख । सभामुखले समय दिएपछि आफ्नो धारणा राख्न तम्सिने सांसदहरू । सत्तापक्षले प्रस्तुत गरेको विधेयकको विरोधमा प्रतिपक्षको नाराबाजी र होहल्लापछि केही बेर स्थगित भएर पुनः सुरु भएको बैठक । दृश्य हेर्दा वास्तविक व्यवस्थापिका संसद बैठकभन्दा कम थिएन ।

तर, यो वास्तविक संसद नभई तुलसीपुर–९ बेलुवास्थित सप्तरंगी इंग्लिस मिडियम स्कुल (सक्सेस एकेडेमी) का विद्यार्थीहरूले गरेको नमुना संसदको अभ्यास थियो । आइतबार तुलसीपुरस्थित होटल कराहीको सभाहलमा विद्यार्थीहरूले संसदीय अभ्यासको प्रत्यक्ष अनुभव बटुलेका छन् ।

अभ्यासका क्रममा सञ्चारमन्त्री मनोज मल्लले ‘सामाजिक सञ्जाल प्रयोग तथा सञ्चालन विधेयक’ संसदमा प्रस्तुत गर्नुभएको थियो । विधेयकको पक्ष र विपक्षमा सांसदहरूबीच तीव्र बहस भयो ।
नमुना सांसद कल्पना घर्तीले सरकारले सूचना प्रविधिलाई प्राथमिकता दिएको र यसले नेपालमै डाटा सुरक्षित हुने दाबी गर्दा सत्तापक्षका सांसदहरूले टेबल ठोकेर स्वागत गरे ।

प्रतिपक्षका तर्फबाट सांसद करुणा बस्नेतले कुसंस्कार अन्त्य र महिला अधिकारको मुद्दा उठाउँदै बलात्कारजन्य घटना नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउनुभयो । अर्का सांसद निसा बिकले किसानले समयमा मल–बीउ नपाएको समस्या र आरएन शाहीले नागरिक अझै पनि आधारभूत आवश्यकताबाटै वञ्चित हुनुपरेको विषय उठाएका थिए ।
विद्यार्थीमा राजनीतिप्रतिको चासो बढाउन र संसदीय व्यवस्थाबारे व्यावहारिक ज्ञान दिलाउन दुई दिने (शनिबार र आइतबार) नमुना अभ्यास गराइएको विद्यालयका प्रधानाध्यापक प्रदीप वलीले जानकारी दिनुभयो । कार्यक्रम ‘द नेशनल युथ वेलफेयर नेपाल’को प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष ललितजङ्ग शाहको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि दाङ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य कमल सुवेदीले नमुना संसद अभ्यासले विद्यार्थीमा सांसदको भूमिका बुझ्न र राजनीतिक चेतना विकास गर्न ठूलो सहयोग पुर्याउने बताउनुभयो ।



















