२०८३ साउन १० गते आइतवार

रुकुममा जङगली च्याउ खाँदा सात जना बिरामी


दाङ । रुकुमपूर्वमा जंगली च्याउ खाँदा सात जना बिरामी परेका छन् । पुथा उत्तरगंगा गाउँपालिका–२ को दुर्गम रल गाउँका सात जना स्थानीय जंगली च्याउ सेवन गरेपछि शनिबार बिहान बिरामी परेका हुन् ।

बिरामी पर्नेमा ६० वर्षीय धर्मटेक पुन, ३२ वर्षीय लोकेन्द्र पुन, ३४ वर्षीय रचन पुन, ४३ वर्षीय खडक पुन, ३७ वर्षीया रथना पुन, ४१ वर्षीय दन्त रोका र ४९ वर्षीय बरण रोका रहेका छन् । उनीहरूमा बान्ता हुने, टाउको दुख्ने, पखाला लाग्ने र बेहोस हुनेजस्ता लक्षण देखिएको थियो ।

दुर्गम क्षेत्रमा घटना भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने प्रयास गरिएको भए पनि खराब मौसमका कारण सम्भव हुन नसकेको प्रमुख जिल्ला अधिकारी कोपिला राईले बताउनुभयो । त्यसपछि मैकोट स्वास्थ्य चौकीबाट खटिएका तीन जना स्वास्थ्यकर्मी पाँच घण्टा पैदल हिँडेर शनिबार राति बिरामीसम्म पुगेका थिए ।

प्यारामेडिक्स दिपेन्द्र शाही र सन्तोष कापर तथा नर्सिङ कर्मचारी निर्मला पुनको टोलीले घटनास्थलमै उपचार गरेपछि बिरामीहरूको अवस्था सुधार हुँदै गएको स्वास्थ्य शाखाले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस