२०८२ माघ ८ गते बिहिवार

हाम्रो पहुँच सेकेन्डरी स्कुलमा खेलकुद सप्ताह शुरु

दाङ । तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलमा सोमबारदेखि खेलकुद सप्ताह शुरु भएको छ । विद्यार्थीलाई खेलकुदप्रति रुचि जगाउन र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ विद्यालयले खेलकुद सप्ताह संचालन गरेको हो । बिहिबारसम्म संचालन हुने खेलकुद सप्ताहको सोमबार (आज) उद्घाटन गरिएको हो ।

खेलकुद सप्ताहको उद्घाटन लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले गर्नुभएको हो । उहाँले खेलकुद सप्ताहको उद्घाटन गर्दै खेल क्षेत्र स्वास्थ्यका लागि मात्रै नभएर आपसी सद्भाव र मेलमिलापको माध्यम पनि रहेको बताउनुभयो ।

उहाँले खेलकुद शुरु भएको इतिहासदेखि वर्तमानसम्मको चर्चा गर्दै खेल क्षेत्रले सामाजिक एकता र शारिरीक तथा मानसिकरुपमा सक्षम र सबल बनाउन सहयोग गर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीले हाम्रो पहुँच सेकेन्डरी स्कुलले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सिमिति नराखि विद्यार्थीको चौतर्फी विकासमा जोड दिएको बताउनुभयो । उहाँले विद्यालयले हरेक वर्ष खेलकुद सप्ताह गर्ने गरेको बताउँदै खेलकुदले विद्यार्थीलाई शारिरीक तथा मानसिकरुपमा फूर्तिलो बनाउने र सामाजिक बन्न प्ररित गर्ने बताउनुभयो ।

यस्तै दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियारले खेलकुद सप्ताहले खेलकुदप्रति रुचि राख्ने विद्यार्थीलाई थप हौसला मिलेको बताउनुभयो । उद्घाटन कार्यक्रममा विद्यालय संचालन उपसमितिका संयोजक तथा विद्यालय संचालक संस्था हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष कृष्ण पोखरेल र सचिव जीवराज अधिकारीले खेलकुद गतिविधिले विद्यार्थीमा खेलकुदप्रतिको रुचिलाई थप बढाउने बताउनुभयो ।

विद्यालयका शिक्षक अर्जुन बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको होे ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस