२०८२ फाल्गुन २९ गते शुक्रवार

चन्द्रोदय विद्याकुञ्जले मनायो ३२ औं वार्षिकोत्सव


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ जसपुरमा रहेकोे चन्द्रोदय विद्याकुञ्ज बोर्डिङ स्कुलले ३२ औं वार्षिकोत्सव तथा अभिभावक भेला गरेको छ । विद्यालयले आज शनिबार एक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको हो ।

विद्यालय सञ्चालक बोर्ड समितिका अध्यक्ष दोर्णबहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवम् तुलसीपुर–११ का वडाध्यक्ष मानबहादुर रावत र विद्यालयका संस्थापक अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगर उपप्रमुख माया आचार्यको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

प्रमुख अतिथि नगरप्रमुख खड्काले विद्यालयको शैक्षिक प्रगतिको कामना गर्दै ग्रामीण क्षेत्रमा रहेर पनि चन्द्रोदय विद्याकुञ्जले आफूलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सफल भएको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाका कारण विद्यालयप्रति अभिभावक र समुदायको विश्वास बढ्दै गएको बताउनुभयो ।

विशिष्ट अतिथि वडाध्यक्ष रावतले विद्यालयले शैक्षिक मात्र नभई सामाजिक विकासमा समेत महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले स्थानीय तहले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयका संस्थापक अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिकाका पूर्व नगर उपप्रमुख आचार्यले धेरै संघर्ष गरेर विद्यायलय आज यो उचाइसम्म आइपुगेकोमा खुसी व्यक्त गर्नुभयो । ग्रामिण भेगका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि खुलेको विद्यालयले धेरै राम्रो जनशक्ति पनि उत्पादन गरेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक हरि ओली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलदेव आचार्य, अमर माध्यमिक विद्यालय उरहरीका प्रधानाध्यापक पदमबहादुर ओली, पशुपति माध्यमिक विद्यालय हरिपौरीका प्रधानाध्यापक राधा चौधरी, अभिभावक तारा पोख्रेल, लालबहादुर ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक सञ्जीव डाँगीले विद्यालयको आय–व्यय तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रत्येक वर्ष विद्यालयले शतप्रतिशत नतिजा हासिल गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार २०५० सालमा स्थापना भएको विद्यालयमा सुरुवाती चरणमा करिब १५० जना विद्यार्थी अध्ययनरत रहेकामा हाल ८ सयबढी विद्यार्थी अध्ययनरत छन् । जनजाति, दलित तथा जेहनदार गरी करिब १ सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको उहाँले बताउनुभयो । साथै विद्यालयले प्रत्येक वर्ष एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउँदै आएको दाबी गर्नुभयो । विद्यालयमा करिब ४० जना जनशक्ति कार्यरत रहेको जानकारी दिनुभयो ।

शिक्षक रविलाल भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक हस्तबहादुर भण्डारीले गर्नुभएको हो । सो अवसरमा उत्कृष्ट शिक्षकका रूपमा विष्णु भण्डारी र रिता परियार, उत्कृष्ट कर्मचारीमा जागुराम चौधरी तथा वर्ष उत्कृष्ट विद्यार्थीमा कक्षा ९ का अनुसा कुसारी र कक्षा १० का रितेश आचार्यलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

साथै शैक्षिक क्षेत्रमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस