दाङ । दाङको तुलसीपुर–६ स्थित संस्कार पाठशालाले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता र प्रयोगात्मक सिकाइलाई प्रोत्साहन ‘संस्कार बाल मेला’ गरेको छ ।

विद्यालय परिसरमा आयोजित मेलामा विद्यार्थीहरूले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा प्रस्तुत गरेका छन् । मेलामा विद्यार्थीहरूले निर्माण गरेका कलाकृतिदेखि आधुनिक विज्ञानका विभिन्न नमुनाहरू प्रदर्शन गरिएको छ । जसलाई शुक्रबार अभिभावक तथा शिक्षाप्रेमीहरूले निकै अभिरुचिका साथ अवलोकन गरेका छन् ।

मेलाको मुख्य आकर्षणको रूपमा विद्यार्थीहरूले तयार पारेका विज्ञानका आविष्कार र नमुनाहरू रहेका थिए । मेलामा साना वैज्ञानिकहरूले नमुना सहरदेखि वातावरण संरक्षणमा सहयोग पुर्याउने प्रविधिहरू प्रदर्शन गरेका थिए ।
यस्तै विद्यार्थीहरूको हातबाट कोरिएका चित्रकला र हस्तकलाका सामग्रीहरूले मेलालाई रंगिन बनाएको थियो ।

बालबालिकाहरूमा व्यावसायिक सीप र आर्थिक कारोबारको ज्ञान सिकाउन मेलामा विभिन्न खाद्य परिकारका स्टलहरू समेत राखिएको थियो । जहाँ विद्यार्थीहरू आफैँले बनाएका परिकारहरू बिक्री–वितरण गरेका थिए ।
पछिल्लो समय डिजिटल ग्याजेटमा झुम्मिएकालाई अक्षर र शब्दसँग जोड्न मेलामा ‘पुस्तक प्रदर्शनी’ लाई पनि विशेष प्राथमिकता दिइएको थियो ।

मेलाका बारेमा जानकारी दिँदै संस्कार पाठशालाका शिक्षा संयोजक बलदेव पोखरेलले विद्यार्थीहरूको अतिरिक्त ज्ञान र अन्तर्निहित सीप प्रस्फुटन गराउन हरेक वर्ष यसै समयमा मेला आयोजना गर्ने गरिएको बताउनुभयो ।
मेलाको औपचारिक उद्घाटन गर्दै ज्ञान ज्योति एजुकेशन फाउण्डेशनका सिइओ सुरेन्द्र जिसीले बालबालिकाको चौतर्फी विकासका लागि विद्यालयले ‘संस्कार बाल मेला’ जस्तो मौलिक अवधारणा अघि सारेको बताउनुभयो ।

अभिभावकहरूले पनि आफ्ना बालबालिकाले देखाएको अद्भुत क्षमता देखेर खुसी व्यक्त गर्दै विद्यालयको यो प्रयासको सराहना गरेका छन् ।














