दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई संसदबाट निकाल्ने योजनाकारहरू दाङमै रहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पाटीले आज दाङको घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गदै लामिछानेले आफुलाई संसदबाट निकाल्ने योजनाकारहरु यही रहेको आरोप लगाउनुभएको हो ।
लामिछानेले देशका नागरिकहरुले सबैभन्दा धेरै मत दिएर संसदमा पठाए पनि आफुलाई छलछाम गरी बिचौलियासंग मध्रातमा हस्ताक्षर गरेर दुई घण्टामै सूचना टाँस गरेर आफुलाई हटाइएको दाबी गर्नुभयो ।
उहाँले सुशासनका पक्षमा आवाज उठाउँदा भ्रष्टाचारमा संलग्न व्यक्तिहरू आत्तिएको आरोप लगाउँदै आफूलाई संसदबाट हटाउने निर्णय योजनाबद्ध रूपमा गरिएको बताउनुभयो । लामिछानेले निर्वाचनमा पुनः उम्मेदवारी दिएको उल्लेख गर्दै संसदबाट हटाए पनि नागरिकको मनबाट आफूलाई हटाउन नसक्ने दाबी गर्नुभयो। अप्ठ्यारो पर्दा नागरिकले साथ दिनुभएको छ, त्यो कहिल्यै बिर्सने छैन उहाँले भन्नुभयो ।

यस्तै सभामा उहाँले रास्वपाले सार्वजनिक गरेको बाचापत्रमा भातृ संगठन नराख्ने प्रतिबद्धता गरेको जानकारी दिनुभयो । महिला, किसान तथा विभिन्न पेशागत–शैक्षिक संगठन नबनाउने नीति लिएको बताउँदै विगत ३५ वर्षसम्म शिक्षकको हितमा काम नभएकै कारण शिक्षकहरू दुई तिहाइ सरकार हुँदा पनि अधिकार माग्न काठमाडौं जान बाध्य भएको प्रसंग स्मरण गर्नुभयो । किसानले समयमा मल, बिउ र बजार नपाएको उल्लेख गर्दै रास्वपा हाँगा होइन, जरा बनेर समस्या समाधानमा लाग्ने उहाँले दाबी गर्नुभयो ।
दाङ थारू बाहुल्य सभ्यताको केन्द्र भएको बताउँदै लामिछानेले थारू जाति मात्र नभएर सभ्यता भएको उल्लेख गर्नुभयो । ठूला राजनीतिक दलले ३५ वर्षसम्म थारू समुदायलाई ‘भोट बैंक’ बनाएर जहाँ भन्यो त्यहीँ भोट हाल्न लगाए पनि उनीहरूको हकहितका लागि केही नगरेकाले मत परिवर्तन गर्न उहाँले आग्रह गर्नुभयो । भूमिहीनहरूले अझैसम्म लालपूर्जा नपाएको भन्दै सबैको अधिकारका लागि रास्वपा भातृ संगठन नबनाइकनै लड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लामिछानेले यस पटक पुराना दलहरूलाई नभएर रास्वपालाई जिताउन नागरिकलाई आग्रह गर्नुभयो । देशलाई यत्तिकै छोड्ने कि बनाउने भन्ने निर्णय गर्ने समय आएकाले जनतालाई पार्टीभन्दा माथि उठ्न आग्रह गर्नुभएको हो ।
सभापति लामिछानेले आफ्नो पार्टीले कुनै दलको झण्डा जलाउनेलगायतका अराजक गतिविधि गर्ने नीति नलिएको स्पष्ट पार्नुभयो ।





















