दाङ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याबसन) दाङले २०८२ सालको मेधावी छात्र तथा छात्रा प्रतियोगिता भएको छ । दाङका विभिन्न संस्थागत विद्यालयका उत्कृष्ट तथा प्रतिभाशाली विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीले विद्यार्थीहरू नै देशको भविष्य भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले उनीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
नेसनल प्याबसन दाङका अध्यक्ष सालिकराम कार्की, सुमन केसी, नवराज भण्डारी तथा आईटी प्रमुख यामबहादुर सोतीले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यार्थीहरूलाई मेहनत, अनुशासन र प्रविधिमैत्री शिक्षामा जोड दिन आग्रह गर्नुभयो । वक्ताहरूले यस्ता कार्यक्रमले स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने धारणा राखेका थिए ।
प्रतियोगितामा छात्रा तर्फ अमृत एकाडेमीका छात्रा श्रिष्मा थापा प्रथम, ज्ञानज्योति सेकेन्डरी स्कुलका हाहिश्मा राम्जा द्वितीय, मिडवेस्ट पोइन्ट एकेडेमीका सन्जु भण्डारी तृतीय, पिपुल्स ल्यान्ड इङ्लिस बोडिङ स्कुलका रितिका भण्डारी र विद्याकुञ्ज इङ्लिस बोडिङ स्कुलका रजनी चौधरी सान्त्वना हुनुभएको हो ।
यस्तै छात्र तर्फ ज्ञानज्योति सेकेन्डरी स्कुलका नारायण पोखरेल प्रथम, मिडवेस्ट पोइन्ट एकेडेमीका रञ्जित बोहरा द्वितीय, अमृत एकाडेमीका सम्राट रोका क्षेत्री तृतीय, सरस्वती इङ्लिस मिडियम स्कुलका गोपाल बुढाथोकी र विद्याकुञ्ज इङ्लिस बोडिङ स्कुलका प्रलय चौधरी सान्त्वना हुनुभएको छ ।

उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा आकर्षक पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार यस्ता शैक्षिक कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, अध्ययनप्रतिको लगाव तथा स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने विश्वास लिइएको छ ।
कार्यक्रमको व्यवस्थापन हाई टेक कम्प्युटर इन्स्टिच्युट, तुलसीपुरले गरेको थियो भने सञ्चालन ठाकुर प्रसाद डाँगीले गर्नुभएको थियो । आगामी वर्षहरूमा पनि यस्ता रचनात्मक तथा प्रेरणादायी कार्यक्रम निरन्तर आयोजना गरिने प्रतिबद्धता आयोजकले व्यक्त गरेको छ ।















