दाङ। दाङको तुलसीपुरमा दुई सय बढी विद्यार्थीलाई नमस्तेको सिम निः शुल्क वितरण गरिएको छ । नेपाल टेलिकम तुलसीपुरले हाम्रो पहुँच सेकेन्डरी स्कुलमा अध्ययनरत कक्षा ११ र १२ विद्यार्थीलाई दुई सय बढी सिम निः शुल्क वितरण गरेको हो ।

कार्यालय प्रमुख प्रविणकुमार चौधरीले सोमबार बिहान विद्यार्थीलाई विद्यालय परिसरमै निशुल्करुपमा सिम वितरण गर्नुभएको हो । विद्यार्थीमा सेवाको पहुँच विस्तार गर्नका लागि टेलिकमले निशुल्करुपमा सिम वितरण गरेको हो ।
सिम वितरण गर्दै कार्यालय प्रमुख चौधरीले विद्यार्थीलाई फोन तथा प्रविधिको सहि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीलाई टेलिकमको सेवा सहजरुपमा विस्तार गर्न निशुल्करुपमा वितरण गरिएको बताउनुभयो । उहाँले सिमको सहीरुपमा सदुपयोग गरी लाभ लिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

यसैगरी इन्जिनियर रबिन पन्थीले विद्यार्थीलाई प्रविधिको दुरुपयोग गर्दा पार्ने असर र अपनाउनुपर्ने सावधानीका बारेमा समेत प्रशिक्षण गर्नुभएको हो । उहाँले फोन हराउँदै गर्न सकिने ट्रयाकिङ, सिम जथाभावीरुपमा फाल्दा हुने जोखिम लगायतका बारेमा विद्यार्थीलाई जानकारी गराउनुभयो । कार्यालयका सहायक प्रशासकिय अधिकृत दिपक घर्तीले प्रविधिको सहीरुपमा सदुपयोग गर्दा धेरै ज्ञान सिप आर्जन गर्न सकिने बताउनुभयो ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डिआर भण्डारीले टेलिकम परिवारप्रति हार्दिक आभार प्रकट गर्नुभयो । विद्यालयका प्रधानाध्यापक शिव पुनले सिम सानोजस्तो देखिएपनि विद्यार्थीको जीवनमा ठुलो सकारात्मक परिवर्तन ल्याउनेमा विश्वास व्यक्त गर्नुभयो ।
प्रधानाध्यापक पुनको अध्यक्षता तथा नेपाल टेलिकम कार्यालय तुलसीपुरका प्रमुख प्रबिनकुमार चौधरीको प्रमु आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण शिक्षक लक्ष्मी घिमिरेले गर्नुभएको हो । कार्यक्रममा टेलिकम कार्यालय तुलसीपुरका लेखा अधिकृत खुबीराम सेढाई लगायतका कर्मचारीको उपस्थिति समेत रहेको थियो ।















