दाङ। आउँदो बिहिबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दाङमा प्रत्यक्षतर्फ ४ लाख ६५ हजार मतपत्र आइपुगेको छ । तीन वटै निर्वाचन क्षेत्रमा ४ लाख ३१ हजार ६८६ मतदाताका लागि ३३ हजार ३१४ बढी मतपत्र आइपुगेको हो ।
यस्तै समानुपातिकतर्फ तीन वटै निर्वाचन क्षेत्रका लागि ४ लाख ७२ हजार मतपत्र आइपुगेको छ । समानुपतिकतर्फ अस्थायी मतदाता भएकाले प्रत्यक्षको तुलनामा समानुपातिक मतपत्र बढी आएको निर्वाचन क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत भुपाल भण्डारीले बताउनुभयो ।
निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फ र समानुपातिकतर्फ बराबर मतपत्र छ । क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ १ लाख ५१ हजार र समानुपातिकतर्फ पनि सोहि संख्यामै मतपत्र आइपुगेको सहायक निर्वाचन अधिकृत लक्ष्मण भण्डारीले बताउनुभयो । उहाँका अनुसार क्षेत्र नम्बर १ मा १ लाख ४० हजार १ जना मतदाता रहेका छन् ।
क्षेत्र नम्बर २ मा भने प्रत्यक्षतर्फ १ लाख ५२ हजार र समानुपातिकतर्फ १ लाख ५९ हजार मतपत्र आइपुगको छ । क्षेत्र नम्बर २ मा कुल मतदाता १ लाख ४० हजार ९६५ जना रहेका छन् ।
यसैगरी क्षेत्र नम्बर ३ मा १ लाख ५० हजार ७२० मतदाता रहेकोमा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ समान १ लाख ६२ हजार मतपत्र आइपुगेको सहायक निर्वाचन अधिकृत टिकाकुमारी रोकाले जानकारी दिनुभयो । दाङमा कुल १५९ मतदान स्थल रहेका छन् भने ४८२ मतदान केन्द्र रहेका छन् ।















