२०८३ बैशाख ६ गते आइतवार

दाङको बबई–७ मलइखोलामा मतदान शून्य


दाङ । दाङ, निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत बबई गाउँपालिका–७ मलईखोलामा रहेको देउती माध्यमिक विद्यालय मतदान केन्द्रमा कुनै पनि मत खसेको छैन ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने उक्त मतदान केन्द्रमा मतदाता मतदानका लागि नआएपछि शून्य मतदान भएको निर्वाचन अधिकृत टेकबहादुर खड्काले जानकारी दिनुभयो ।

उक्त केन्द्रमा कुल ५ सय ३० जना मतदाता रहेका छन् । तीमध्ये २ सय ७४ जना पुरुष र २ सय ५६ जना महिला मतदाता रहेको अधिकृत खड्काले बताउनुभयो ।

मतदान नभएपछि अहिले मतपेटिकाको मुचुल्का उठाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो । दाङ क्षेत्र नम्बर ३ अन्तर्गत बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाले जंगली जनावरको आतंकका कारण बस्ती स्थानान्तरण गर्नुपर्ने माग गर्दै आएका छन् ।

स्थानीयको माग सुनुवाइ नभएको भन्दै यसपटकको निर्वाचनमा सहभागी नहुने स्थानीयले सामूहिक निर्णय गरेका थिए । गत २०७९ को निर्वाचनमा पनि मतदान नगर्ने अडान लिएका मतदाता नेताहरूको आश्वासनपछि मतदानमा सहभागी भएका थिए ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस