२०८३ बैशाख १३ गते आइतवार

दाङ–२ मा रास्वपाका आचार्य भारी मतका साथ विजयी, एमालेका पोखरेल दोस्रो पटक पराजित


दाङ । दाङ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विपिन कुमार आचार्य भारी मतान्तरका साथ विजयी हुनुभएको छ ।

आचार्यले नेकपा एमालेका उम्मेदवार शंकर पोखरेललाई २८ हजार २ सय ७२ मतले पछि पारेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले कुल खसेको मतको आधाभन्दा बढी मत प्राप्त गर्नुभएको छ । यद्यपि निर्वाचन कार्यालयले औपचारिक रूपमा निर्वाचित घोषणा गर्न भने बाँकी रहेको छ ।

निर्वाचन परिणामअनुसार आचार्यले ४३ हजार ५ सय ५९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका पोखरेलले १५ हजार २ सय ८७ मत मात्र प्राप्त गर्नुभएको छ ।

पोखरेलको यो लगातार दोस्रो हार हो । २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार रेखा शर्मासँग १९३ मतले पराजित हुनुभएका पोखरेल यसपटक रास्वपाका आचार्यसँग २८ हजारभन्दा बढी मतान्तरले पराजित हुनुभएको छ ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण किशोर घिमिरेले ११ हजार ५ सय ५८ मत प्राप्त गर्नुभएको छ भने नेपाल कम्युनिष्ट पार्टीका निर्मल आचार्यले ७ हजार ८३ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर २ मा अन्तिम मतपरिणम अनुसार नेकपाका आचार्यसहित अन्य उम्मेदवारको पनि जमाननत जफत भएको छ ।

दाङ क्षेत्र नम्बर २ मा कुल १ लाख ४० हजार ९ सय ६५ मतदाता रहेकामा ८२ हजार ६ सय ३३ मत खसेको थियो । जसमा २ हजार ८ सय ६५ मत बदर भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस