दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ खौसापुरमा रहेको जलाशय पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख रोजाइ बन्न थालेको छ । विगतमा गौचरन र सामान्य खोल्सो रहेको यो स्थान अहिले सिमसार र पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको हो ।

जलाशयको मंगलबार तुलसीपुर–७ मा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलका विद्यार्थीहरूले स्थलगत अवलोकन गरेका छन् । विद्यालयले विद्यार्थीहरूलाई कक्षाकोठाको सिकाइलाई व्यवहारिक बनाउने उद्देश्यले सो क्षेत्रको भ्रमण गराएको हो ।

जलाशय अवलोकनका क्रममा विद्यार्थीहरूलाई पानी चक्रमा जलाशयको भूमिका, जैविक विविधता र वातावरण संरक्षणको महत्वबारे जानकारी दिइएको विद्यालयका प्रिन्सिपल शिव पुनले बताउनुभयो ।
पछिल्लो समय खौसापुरको यो जलाशयमा साइबेरिया र मंगोलिया जस्ता टाढाका देशहरूबाट आएका रंगीविरंगी चराहरूले पर्यटकलाई थप आकर्षित गर्ने गरेका छन् । जलाशयको प्रचारप्रसार बढेसँगै यहाँ दैनिकजसो अवलोकनकर्ता र वनभोज खानेहरूको घुइँचो लाग्ने गरेको छ ।















