दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले पार्टी कार्यालयमा लेनिनको फोटो टाँसेर मात्र साम्राज्यवादी स्वार्थमा काम गर्नेहरू सच्चा कम्युनिस्ट हुन नसक्ने बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा दाङले आयोजना गरेको लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकको भावना हेरेर ‘हसिया–हतौडा’लाई ट्रेडमार्कका रूपमा प्रयोग गर्नेहरू पनि वास्तविक कम्युनिस्ट हुन नसक्ने बताउनुभयो । नेपालमा हसिया–हतौडालाई ट्रेडमार्क बनाउँदै नवउदारवाद र दलाल पुँजीवादलाई अंगाल्दा अहिले त्यस्ता प्रवृत्तिहरू हाबी भएको उहाँको भनाइ छ ।
आचार्यले लेनिन र लेनिनवादको महत्व आज पनि विश्व र नेपाली समाजमा सान्दर्भिक रहेको उल्लेख गर्दै लेनिनका दार्शनिक तथा संगठनात्मक विचारहरूलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । मजदुर, किसान तथा शोषित–पीडित वर्गको मुक्तिका लागि लेनिनका विचारहरू अनुकरणीय रहेको उहाँको भनाइ छ ।
नेपाल कम्युनिस्ट पार्टीको ७८औँ स्थापना दिवसको सन्दर्भमा उहाँले दक्षिणपन्थी अवसरवादका कारण नेपाली कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको दाबी गर्नुभयोे । यस्तो अवस्थामा आन्दोलनलाई जीवित राख्दै अगाडि बढाउने काम नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गरिरहेको उहाँको भनाइ छ ।
राष्ट्रिय जनमोर्चा दाङका सचिव बसन्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लेनिनवादको औचित्य, महत्व र सान्दर्भिकताबारे अखिल नेपाल युवक सङ्घका पूर्वअध्यक्ष काशीनाथ पोखरेलले विषय प्रवेश गराउनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सचिव रामबहादुर जीएमले वर्तमान पुँजीवादी राज्य व्यवस्था र दलाल पुँजीवादी अर्थतन्त्रबाट मजदुर, किसान तथा शोषित वर्गको उत्थान सम्भव नभएको बताउनुभयो । उहाँले वर्तमान सरकारको कार्यशैली जनविरोधी र दमनकारी भएको आरोप लगाउँदै यसको विरुद्धमा वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी अखिल नेपाल किसान महासंघका दाङ जिल्ला अध्यक्ष ऋषिराम पौडेल, जातीय समता समाज दाङका अध्यक्ष सूर्यलाल नेपाली, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य ईश्वरी भण्डारी, अखिल नेपाल प्रगतिशील लेखक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सुरेश कुमार पाण्डे, अखिल नेपाल महिला संघ दाङ जिल्ला सदस्य हेमा पोख्रेल, जनप्रतिनिधिहरु दिनामणि आचार्य, विष्णु भुसाल, भौतिकवादी समाज दाङका संयोजक पदम पोखरेल, रक्तिम सांस्कृतिक अभियान घोराहीनगरका अध्यक्ष उत्सव पुनले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चा जिल्ला सहसचिव कृष्ण रानाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण घोराही नगर अध्यक्ष मनिराम खनालले गर्नुभएको थियो ।














