दाङ। तुलसीपुर उपमहानगरपालिकाको सरसफाई तथा फोहोरमैला व्यवस्थापन शाखाले टोल विकास संस्थाका पदाधिकारीहरूलाई जिम्मेवार बनाउन सरसफाई सचेतना कार्यक्रम गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा वडा नम्बर ५ र ९ का करिब ९० वटा टोल विकास संस्थाका प्रतिनिधिहरूलाई फोहोर व्यवस्थापन र यसमा स्थानीय नेतृत्वको भूमिकाबारे विस्तृत सचेतना प्रदान गरिएको हो ।

वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालको अध्यक्षता तथा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्धेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख प्रशासकिय अधिकृत पार्धेले सरसफाई स्वास्थ्यसंग मात्र नभई प्रतिष्ठासंग पनि जोडिएको बताउनुभयो । उहाँले तुलसीपुर उपमहानगरपालिकामा ग्रामिण क्षेत्रमा सरसफाई व्यवस्थापन सहज देखिएपनि बजार क्षेत्रमा चुनौति बढ्दै गएको बताउनुभयो ।
उहाँले विकासउन्मुख बजारको फोहर व्यवस्थापनमा दीर्घकालिन योजना बन्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्रशिक्षकका रूपमा रहनुभएका सरसफाई विज्ञ विपिन आचार्य र जनस्वास्थ्य निरीक्षक बिमल केसीले सहभागीहरूलाई प्रशिक्षित गर्नुभएको हो ।
विशेषगरी शहरी क्षेत्रमा बढ्दो फोहोरको चापलाई न्यूनीकरण गर्न टोल विकास संस्थाका पदाधिकारीहरूले आफ्नो क्षेत्रमा खेल्न सक्ने नियामक र समन्वयकारी भूमिकाबारे चर्चा गरिएको हो ।
राजश्व शाखाका कुन्ता भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष बिरेन्द्र शाह, वडा सदस्य भीम बहादुर केसी, पत्रकार दिपक बोहरा, श्रम संस्कृति पाटीका मधुकर न्यौपाने र बसपार्क खानेपानी उपभोक्ता समितिका सचिव अतिराम विष्ट लगायतले सरसफाई अभियानलाई केवल सरकारी कार्यक्रमका रूपमा मात्र नलिई नागरिकको सामाजिक दायित्वका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
सहभागीहरुले उपमहानगरपालिका र टोल विकास संस्थाहरूबीचको समन्वयलाई थप मजबुत बनाउँदै ’स्वच्छ तुलसीपुर’को सपना साकार पार्न सकिने बताउनुभयो । सरसफाई तथा फोहोरमैला व्यवस्थापन शाखा प्रमुख रेवा रावतले कार्यक्रमको सहजीकरण गर्नुभएको हो ।














