दाङ । पसलको बिमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उद्देश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचाँदी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ अमरपथमा सञ्चालनमा रहेको तिनाउ सुनचाँदी पसलमा यही जेठ १७ गते चोरी भएको घटनामा स्वयं पसलका सञ्चालकको संलग्नता देखिएको हो । घटनामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका बुटवल उपमहानगरपालिका–३ पुलचोकका ४१ वर्षीय दीपक विक नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
प्रहरीका अनुसार पसल सञ्चालक विक जेठ १६ गते बिहान पोखरा गएको अवस्थामा एक करोड ४६ लाख ९४ हजार, ७ सय रुपैयाँ बराबरको सुनचाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा निज विक त्यही साँझ बुटवल फर्किएर १७ गते बिहान करिब १ बजेको समयमा आफ्नै पसलका कामदार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ बस्ने नवीन विकको सहयोगमा योजनाबद्ध रूपमा चोरीको नाटक गरेको खुलेको हो ।
उनीहरूलाई पक्राउ गरेर आपराधिक विश्वासघात मुद्दामा म्याद थप भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनालगत्तै प्रहरीले विभिन्न स्थानको सिसीटिभी फुटेज सङ्कलन गरी अनुसन्धान गर्दा निज पसल सञ्चालक विक रातिको समयमा पसलमा प्रवेश गरेर करिब दुई घण्टा बढी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ ।
यस्तै पसलबाट बाहिरिएपछि तिनाउ पुल पार गरेर बुटवल–२ को बाटो हुँदै निस्किएको प्रहरीले बुटवलका विभिन्न स्थानमा राखिएका सिसी टिभीबाट सङ्कलन गरेका फुटेजबाट देखिन आएको प्रहरीले जनाएको छ ।
प्रहरीले विकको घरमा छापा मारेर बाला दुई थान, लकेटसहितको सिक्री एक थान, सिक्री एक थान, सुनको कानमा लगाउने कानपासा चार थान, झुम्का एक जोडी, कानको बाली एक जोडी, सुनसहितको सेतो र हरियो माला दुई थान, सुनको औँठी तीन थान, सुनको कानको टप एक जोडी, स्टोन फुली, चाँदीको लोटा एक थान, चाँदीको बिच्छु छ थान तथा चाँदीको औँठी एक थान बरामद गरेको जनाएको छ ।



















