दाङ । दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुरघाट क्षेत्रमा शनिबार बिहान करिब ६ बजेतिर ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्ने क्रममा शान्तिनगर गाउँपालिका–४ हिरापुर निवासी ४७ वर्षीय भोजराज केसीको मृत्यु भएको हो ।
प्हरीका अनुसार सात जनाको टोलीले ब्याट्रीबाट करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा भोजराज घाइते भएर बेहोस हुनुभएको हो ।
उहाँलाई तत्काल उपचारका लागि एम्बुलेन्समार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो । तर उपचारकै क्रममा बिहान ७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनापछि प्रहरी चौकी चिराघाटबाट प्रहरी सहायक निरीक्षक हिरालाल सेन्चुरीको नेतृत्वमा २ जना तथा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक कमल परियारको नेतृत्वमा ५ जनाको टोली घटनास्थलमा खटिएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले शान्तिनगर गाउँपालिका–४ का रामप्रसाद पाण्डे, ५३ वर्षीय मेखलाल रेउले, ४१ वर्षीय गणेश अधिकारी, २७ वर्षीय युवराज भण्डारी, ३४ वर्षीय संगम पाउ र शान्तिनगर गाउँपालिका–३ का गोविन्द सुबेदीलाई नियन्त्रणमा लिएको हो ।
















