२०८३ बैशाख १६ गते बुधवार

धानखोला–लमही सडक स्तरोन्नति आजदेखि सुरु

दाङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको धानखोला–लमही सडकखण्डको स्तरोन्नति गर्ने काम आज (बुधबार) देखि सुरु हुने भएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को लगानीमा आजदेखि सडकको स्तरोन्नति गर्ने काम सुरु हुन थालेको हो ।

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको सडक मर्मत योजनाअन्तर्गत धानखोला–लमही सडकखण्डको ४० किलोमिटर स्तरोन्नति हुन लागेको हो । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) ले उक्त परियोजनाको अनुगमन गर्नेछ ।

एमसीए–नेपालले पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा नवीन प्रविधि प्रयोग गरी स्तरोन्नति गर्नेगरी २०८२ पुस ७ गते शर्मा–कुमार जेभीसँग (शर्मा कन्स्ट्रक्सन/कुमार निर्माण सेवा प्राली) भ्याटबाहेक करिब दुई करोड आठ अमेरिकी डलरमा ठेक्का सम्झौता भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र कपिलवस्तु जिल्लाको सिमाना धानखोलादेखि लमही लमही नगरपालिका–५ को रातोडाडासम्म सडक स्तरोन्नतिको काम निर्माण कम्पनीले २४ महिनाभित्र काम गरि सक्ने गरी ठेक्का सम्झौता भएको छ ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले संस्थाले विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजनालाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनकारी दिनुभएको छ ।

सम्झौता अनुसार धानखोलादेखि लमहीसम्मको सडक खण्ड स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने जनाइएको छ । उहाँका अनुसार धानखोला–लमही ४० किलोमिटर सडक खण्डमा आधुनिक प्रविधि प्रयोग गरी स्तरोन्नति कार्य अगाडि बढाइने छ ।

एमसिए–नेपालका अनुसार उक्त सडक खण्डको विस्तृत सर्वेक्षण कार्य सम्पन्न भइसकेको छ भने निर्माण कम्पनीलाई कार्यस्थलमा परिचालन गरिसकिएको छ । धानखोला–लमही सडक स्तरोन्नति कार्यको औपचारिक शुभारम्भ आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस