दाङ । सहकारी क्षेत्रमा देखिएको तरलता अभाव र अव्यवस्थित लगानीका कारण दाङको तुलसीपुर क्षेत्रमा सञ्चालित पाँच वटा सहकारी संस्थाहरू समस्याग्रस्त देखिएका छन् ।
लामो समयदेखि बचतकर्ताको रकम फिर्ता गर्न नसकेका र कार्यालय नै बन्द गरेर बसेका ति सहकारीका कारण सयौँ सर्वसाधारणको बचत रकम जोखिममा परेको छ । तुलसीपुर उपमहानगरपालिकाका सहकारी प्रवद्र्धन शाखा प्रमुख ललित बहादुर घर्तीले समस्याग्रस्त पाँच सहकारीमध्ये दुई वटा सहकारीविरुद्ध वचत फिर्ताको उजुरी परेको बताउनुभयो ।
उहाँले तीन वटा सहकारी संस्थाका संचालक समिति सम्पर्कबिहिन बनेको बताउनुभयो ।
उहाँका अुनसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा रहेको जनचासो वचत तथा ऋण सहकारी र वडा नम्बर ५ मा रहेको पेवा वचत तथा ऋण सहकारी संस्थाविरुद्ध वचत फिर्ताको उजुरी परेको छ ।
यस्तै शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, सौजन्य बहुउद्देश्यीय सहकारी संस्था र जनता वचत तथा ऋण सहकारी संस्थाका संचालक सदस्य फरार रहेका छन् । उपमहानगरपालिकाको तथ्यांक अनुसार तुलसीपुर उपमहानगरपालिकामा १८१ सहकारी दर्ता छन् ।
तर २० वटा सहकारी संस्था सम्पर्कबिहिन रहेको प्रमुख घर्तीले बताउनुभयो । नगरमा दर्ता भएका सहकारीमध्ये २० वटा सहकारी संस्थाका संचालक समिति, सम्पर्क ठेगाना, सम्पर्क नम्बर लगायतका विवरण पत्ता लाग्न नसकेको प्रमुख घर्तीले बताउनुभयो ।















