दाङ । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले शनिबार ११ औँ वार्षिक साधारणसभा गरेको छ । साधारणसभामा बोल्ने वक्ताहरूले सिमेन्ट उद्योगकै कारण वर्षायाममा उपभोक्ताले धमिलो पानी खानुपर्ने बाध्यता रहेको बताएका छन् । उनीहरुले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको खानेपानीलाई गुणस्तरीय र सुरक्षित बनाउनुपर्नेमा जोड दिएका हुन् ।
उद्घाटन सत्रमा अधिकांश वक्ताहरुले विशेष गरी छिमेकी जिल्ला रोल्पाको रुण्टीगढी गाउँपालिकाबाट पानी ल्याएर पानी वितरण गरेपछि उपभोक्ताले पर्याप्त पानी पाउन थालेको भन्दै संस्थाको वर्तमान नेतृत्वको खुलेर प्रशंसा गरेका छन् ।
रोल्पाबाट पानी ल्याउने चुनौतीपूर्ण कार्य सफल पारेर खानेपानीको संकट टारेको भन्दै खुसी व्यक्त गरिएको थियो । तर कतिपय उपभोक्ताहरूले वर्षायाममा पानी धमिलो हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
संस्थाका अध्यक्ष प्रदिप गौतमको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यता एवं खानेपानी सरसफाई सहरी विकास तथा खानेपानी मन्त्रालय महाशाखा प्रमुख गुणनिधि पोखरेलको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि नगरप्रमुख खड्काले साना खानेपानी संस्थालाई बेलझुण्डी खानेपानीसंग मर्ज गर्ने प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले कतिपय खानेपानी संस्था सेवालाई विस्तार गर्न नसकेको भन्दै राज्यले लगानीलाई सुरक्षित गर्न मर्जको प्रक्रिया अघि बढाउने बताउनुभयो । उहाँले खानेपानीको महशुल उपमहानगरपालिकाले निर्धारण गर्ने पनि बताउनुभयो ।

यस्तै विशिष्ठ अतिथि महाशाखा प्रमुख पोखरेलले पछिल्लो समय खानेपानी सेवामा परिवर्तन आएको बताउनुभयो । बिगतमा खानेपानी पाउन निकै समस्या हुने गरेको अवस्थामा पछिल्लो समय उपभोक्ताले सहजै शुद्ध पानी पाउन थालेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष शिवानन्द डिसी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका प्रमुख प्रकाशजंग शाह, बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पूर्व अध्यक्ष इश्वर पोखरेल, राष्ट्रिय साना सहरी खानेपानी महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दोर्णप्रसाद जैशीले मन्तव्य राख्नुभएको हो ।
यस्तै तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष भरतमनी पाण्डे, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष श्रवण कुमार रजौरे, रूण्टीगढी गाउँपालिका वडा नम्बर ८ का निवर्तमान वडाअध्यक्ष भीम बहादुर पुन, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेतले मन्तव्य राख्नुभएको हो ।
यस्तै राष्ट्रिय स्वतन्त्र पाटी तुलसीपुर उपमहानगरपालिका–१९ का अध्यक्ष ज्ञानेन्द्र कुमार पोखरेल, नेपाली कांग्रेस तुलसीपुर–१९ का अध्यक्ष पदम वली, नेकपा एमाले तुलसीपुर–१९ का अध्यक्ष लोकबहादुर रोका, नेपाली कम्युनिस्ट पाटीका तुलसीपुर –१९ का अध्यक्ष दुर्गाबहादुर बिक, नेकपाका नेता राम बहादुर थापा, उपभोक्ता शारदा केसीले रोल्पाबाट पानी ल्याउने ऐतिहासिक कार्यको स्वागत गर्दै अब वितरण प्रणाली र महशुल सुधारमा सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
वक्ताहरुले मुहानदेखि मुखसम्म उपभोक्ताले शुद्ध पानी खान पाउनुपर्ने, सहलगानी आयोजना सम्पन्न गर्दा लागेको ऋण सरकारले मिनाह गर्नुपर्ने, खानेपानी महशुलमा सहुलियत दिनुपर्ने लगायतमा जोड दिएका थिए ।
साधारण सभामा नियमित महशुल बुझाउने उपभोक्ता तुलसीपुर –१७ छबिलाल चौधरी, तुलसीपुर –१८ का बुद्धि राम खत्री, दिपेन्द्र मावि मानपुरका अध्यक्ष शिवलाल पौडेल, महालक्ष्मी कम्युटरका अपरेटर गुरूनाथ योगीलाई सम्मान गरिएको छ ।
साधारणसभाको अवसर पारेर संस्थाले खानेपानी, सरसफाई, सहरी विकास तथा खानेपानी मन्त्रालयका महाशाखा प्रमुख गुणनिधि पोखरेल र पानीको स्रोत व्यवस्थापनमा योगदान पुर्याएका रुण्टीगढी गाउँपालिका वडा नम्बर ८ का निवर्तमान वडाअध्यक्ष भीम बहादुर पुनलाई विशेष सम्मान गरेको छ ।

साधारण सभाको उद्घाटन समारोहमा संस्थाका कोषाध्यक्ष बसन्त थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव मुकेश वलीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
संस्थाकी उपाध्यक्ष मन कुमारी महतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन तथा सहजीकरण सचिव मुकेश वलीले गर्नुभएको थियो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६, १७, १८ र १९ का वडामा खानेपानी पुर्याइरहेको बेलझुण्डी खानेपानीले अहिलेसम्म २ हजार १ सय धारा वितरण गरिसकेको छ ।

























