दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कमल सुवेदीले दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको टरिगाउँ विमानस्थल विस्तारका लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभएको छ ।
आज सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवेदीले टरिगाँउ विमानस्थल लामो समयदेखि उपेक्षामा परेको भन्दै पर्याप्त बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
वि.सं. २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थल सात दशक बितिसक्दा पनि विस्तार हुन नसकेको उहाँको भनाई छ । दाङसहित सल्यान, प्युठान, रोल्पा र रुकुमका लाखौँ नागरिकका लागि विमानस्थल जीवनरेखा भए पनि राज्यको उपेक्षामा परेको उहाँले बताउनुभयो ।
साथै उहाँले लमही–घोराही–तुलसीपुर चारलेन सडक, राप्ती राजमार्ग, दाङ–सुर्खेत सडक, दामोदर मार्ग तथा तुलसीपुर–खिलतपुर सडकको अवस्था पनि अत्यन्त दयनीय रहेको विषय संसद्मा उठाउनुभयो । सडकहरूको कमजोर अवस्थाका कारण नागरिकले दैनिक सास्ती र दुर्घटनाको जोखिम भोग्नुपरेको उहाँको भनाइ छ ।
आगामी बजेटमा टारिगाउँ विमानस्थल विस्तार तथा यी रणनीतिक सडकहरूका लागि पर्याप्त बजेट विनियोजन गर्न उहाँले सरकारसँग माग गर्नुभएको छ । सुवेदी दाङ क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुनुहुन्छ ।















