दाङ । दाङका युवाहरू पछिल्लो समय व्यावसायिक कृषि तर्फ आकर्षित हुन थालेका छन् । कृषिमा संभावना देखेपछि युवाहरु व्यावसायिकरुपमा कृषिखेती गर्न थालेका हुन् ।
दङ्गीशरण गाउँपालिका वडा नम्बर १, रामपुरका पाँच जना युवाहरू मिलेर बबई नदीको बगरमा सामूहिक रूपमा गरेको तरबुजा खेती अहिले उदाहरणीय बनेको छ ।
विगतमा बालुवै–बालुवा मात्रै रहेको उराठिलो बगरलाई यी युवाहरूले आफ्नै पसिनाले हरियालीमा परिणत गरिदिएका छन् । बगरमा सोचेभन्दा राम्रो तरबुजा उत्पादन भएपछि कृषकहरू निकै उत्साहित छन् ।

सामूहिक खेतीको नेतृत्व गरिरहनुभएका स्थानीय कृषक कृष्ण चौधरीले बगरमा सोचे अनुरूपको उत्पादन लिन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।
कृषि क्षेत्रमा पुरानो अनुभव रहेका चौधरीले स्वदेशमै आत्मनिर्भर बन्ने उद्देश्यले यो पेसा रोजेको बताउनुहुन्छ । ‘कृषिसम्बन्धी पुरानो अनुभव भएकाले आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने सोच आयो’ उहाँले भन्नुभयो–‘पाँच वर्षअघिदेखि म एक्लै कृषि व्यवसायमा थिएँ, तर अहिले हामी पाँच जना साथीहरू मिलेर सामूहिक रूपमा व्यावसायिक तरबुजा खेती सुरु गरेका हौँ ।’
अघिल्लो वर्ष पनि तरबुजा खेतीबाट राम्रो आम्दानी लिन सफल भएको उहाँले स्मरण गर्नुभयो ।
युवाहरूले अहिले गाउँकै १२ कठ्ठा क्षेत्रफलमा आहाना, पुजा, सरस्वती, दिव्या र स्वीटहनी जातका तरबुजा खेती गरिरहेका छन् । कम विषादी प्रयोग गरी जैविक (अर्गानिक) तरिकाले उत्पादन गरिएकाले स्थानीय उपभोक्ताले यसलाई निकै मन पराएका छन् ।
उत्पादित तरबुजा खरिदका लागि ग्राहकहरू खेतमै पुग्ने गरेका छन् । हाल बजारमा ‘आहाना’ जातको तरबुजा प्रति किलो ८० रुपैयाँ तथा स्वीटहनी, सरस्वती, पुजा र दिव्या जातका तरबुजा प्रति किलो ५० रुपैयाँका दरले गाउँमै बिक्री भइरहेको छ ।
‘अहिले दैनिक १०० देखि १५० किलोसम्म तरबुजा सहजै बिक्री भइरहेको छ, हालसम्म आधाभन्दा बढी उत्पादन बेचिसक्यौँ’ चौधरीले भन्नुभयो । तरबुजाको माग र बजार राम्रो भए पनि बाह्य देश विशेष गरी भारतबाट सस्तो मूल्यमा भित्रिने तरबुजाका कारण स्थानीय किसानहरू मारमा पर्ने गरेको उहाँको गुनासो छ ।
कृषक चौधरी थप्नुहुन्छ, ‘केही बजारीकरणको समस्या छ । सरकारले बाहिरी देशबाट आउने तरबुजाको आयातमा अलिकति कडाइ वा रोक्ने प्रयास गरिदिए हामी जस्ता स्थानीय कृषकहरूलाई ठुलो राहत हुने थियो र बजार सुनिश्चित हुने थियो ।’
तरबुजा किन्न खेतमै पुग्नुभएका उपभोक्ताले गर्मीको समयमा तरबुजाको महत्त्व धेरै हुने भएकाले ताजा र अर्गानिक तरबुजा किन्न यहीँ आउने गरेको बताए ।
खेर गइरहेको बबई नदीको बगरलाई उपयोग गरेर युवाहरूले गरेको यो आम्दानीले सीप र जाँगर भए स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ र रोजगारीका लागि विदेशिनु पर्दैन भन्ने बलियो उदाहरण प्रस्तुत हो ।



















