२०८३ जेष्ठ २७ गते बुधवार

दाङमा तीन प्रदेशका मटाँवा–बरघरहरूको भेला : परम्परागत प्रथाको संरक्षणमा जोड


दाङ ।
थारू समुदायको आदिमकालदेखि चलिआएको परम्परागत मटाँवा–बरघर–भलमन्सा प्रथाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले दाङमा अन्तर प्रदेशस्तरीय सम्मेलन शुरु भएको छ ।

दंगिशरण गाउँपालिका वडा नम्बर ३, चखौरामा सोमबारदेखि ’थारू समुदायको परम्परागत व्यवस्था अन्तर्गत मटाँवा बरघर भलमन्साको अन्तर प्रदेशस्तरीय सम्मेलन तथा अनुभव आदानप्रदान कार्यक्रम’ शुरु भएको हो ।

लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले एक भव्य समारोहका बीच सम्मेलनको उद्घाटन गर्नुभयो । मंगलबारसम्म चल्ने यस सम्मेलनमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका एक हजार बढी थारू अगुवाहरूको सहभागिता रहेको छ ।

सम्मेलनमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, कपिलवस्तु, रूपन्देही र नवलपरासीबाट महटवाको सहभागीता रहेको छ । परम्परागत प्रथाको अनुभव आदानप्रदान, अलिखित कानुनी अभ्यासको अभिलेखीकरण र संस्कृति संरक्षण अन्तर प्रदेशस्तरीय सम्मेलन गरिएको मटाँवा बरघर भलमन्सा सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले बताउनुभयो ।

लुम्बिनी प्रदेशका पूर्वमूख्यमन्त्री समेत रहेका चौधरीले थारू समाज सञ्चालनका लागि यो प्रथा मेरुदण्ड रहेको बताउनुभयो । उहाँका अनुसार जिल्ला अनुसार मटाँवा, बरघर वा भलमन्सा भनेर फरक–फरक नामले चिनिए पनि गाउँको विकास, न्याय सम्पादन र सामाजिक एकतामा सबैको भूमिका समान रहने गर्दछ ।

दुई दिनसम्म चल्ने यस सम्मेलनमा विभिन्न महत्त्वपूर्ण सत्रहरू सञ्चालन हुनेछन ।
थारू समुदायको परम्परागत कानुन र यसको अन्तर्राष्ट्रिय अभ्यास, थारु समुदायको आर्थिक स्तर उकास्ने रणनीति लगायतका विषयमा छलफल हुनेछ ।

यस्तै बालविवाहमुक्त अभियानमा मटाँवा–बरघरहरूको भूमिका, लोप हुन लागेका थारू कला र संस्कृतिको जगेर्ना गरिएको छ । सम्मेलनले थारू समुदायको परम्परागत नेतृत्वलाई आधुनिक लोकतान्त्रिक व्यवस्थासँग जोड्न र कानुनी मान्यता दिलाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको आयोजकले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस