२०८३ जेष्ठ १० गते आइतवार

घर र समाजबाटै दुर्व्यवहार भोग्दै अपाङ्गता भएका महिला : डिजिटल साक्षरतामा जोड

दाङ । अपाङ्गता भएका महिलाहरूले अझै पनि आफ्नै घरपरिवार र समाजबाट गम्भीर दुर्व्यवहार तथा हिंसा भोग्नुपरिरहेको सरोकारवालाहरूले बताएका छन् ।

प्रयत्न नेपालको आयोजनामा बुधबार दाङको तुलसीपुरमा भएको कार्यक्रमका सहभागीहरूले यस्तो गुनासो गरेका हुन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सदस्य बसन्ती वलीले अपांगता भएका महिलाले समाजमा मात्र नभई आफ्नै घरभित्रैबाट दुर्व्यवहारको सामना गर्नुपरेको पीडा पोख्नुभयो ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगका कारण अपाङ्गता भएका महिलाहरू थप असुरक्षित बन्दै गएको उहाँको भनाइ छ । सामाजिक सञ्जालमा फोटो हेरेर ब्ल्याकमेल गर्ने र मानसिक टर्चर दिने क्रम बढेको वलीले बताउनुभयो ।

उहाँले अपांगता भएका महिलाले सार्वजनिक यातायातमा यात्रा गर्दा पनि सास्ती र दुर्व्यवहार भोग्नुपरेको बताउनुभयो ।

त्यस्तै, अजय शर्माले अपाङ्गता भएका महिलाहरूले महिनावारीका समयमा सरसफाइ र व्यवस्थापनमा झनै ठूलो सास्ती र समस्या भोग्नुपरेको तर्फ ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा बोल्दै दृष्टिविहीन रामबहादुर खड्काले प्रविधिको युगमा अपाङ्गता भएका व्यक्तिहरू पछि परेको भन्दै उनीहरूका लागि ‘डिजिटल मिडिया’ को सही प्रयोगसम्बन्धी विशेष तालिम आवश्यक रहेकोमा जोड दिनुभयो ।

त्यसैगरी, पत्रकार दीपक बोहोराले सञ्चारमाध्यम र सञ्चार गृहहरू अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिनुभयो । सूचना अधिकारी यज्ञबहादुर केसीले आमसञ्चार माध्यमहरूले समाचार तथा सूचना प्रवाह गर्दा साङ्केतिक भाषालाई प्राथमिकता दिनुपर्ने सुझाव राख्नुभयो ।

अधिकारकर्मी सुशील बस्नेतले लुम्बिनी प्रदेश सरकारले योजना तर्जुमा गर्दा अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता बढाउन आवश्यक पैरवी गरेको बताउनुभयो । उहाँले बजेट निर्माणको चरणदेखि नै अपाङ्गता भएका नागरिकको आवाज समेटिनुपर्नेमा जोड दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरू सार्वजनिक काम र सेवा लिन जाँदा सामाजिक दुर्व्यवहार र हिंसाको सिकार हुने गरेको बताउनुभयो ।

बैंकिङ प्रणाली अपाङ्गमैत्री नहुँदा पढेलेखेका व्यक्तिहरूले समेत बैंकमा हस्ताक्षरको सट्टा ल्याप्चे लगाउनुपर्ने बाध्यता रहेको र यसले उनीहरूलाई अपमानित महसुस गराउने गरेको उहाँको भनाइ छ ।

यहि समस्यालाई मध्यनजर गर्दै गत वर्ष गुरुजजुर माध्यमिक विद्यालयमा अध्ययनरत १५ जना बालबालिकालाई बैंकहरूमा हस्ताक्षर गराउने वातावरण मिलाएको श्रेष्ठले स्मरण गराउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले अपाङ्गता भएका व्यक्तिहरूलाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा माथि उठाउन नगर सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले आगामी दिनमा अपाङ्गता भएका नागरिकको क्षमता विकास र अधिकार सुनिश्चितताका लागि प्रयत्न नेपालजस्ता संस्थाहरूसँग सहकार्य गर्दै नगरले ठोस कार्यक्रमहरू ल्याउने घोषणा गर्नुभयो ।

राप्ती बहिरा सङ्घकी कार्यकारी निर्देशक प्रतिमा शर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा स्थानीय सरोकारवाला, अधिकारकर्मी र पत्रकारहरूको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस