दाङ । नेपाली युवाहरूमा विदेशी महिला सँग विवाह गरी बुहारीका रूपमा भित्र्याउने प्रचलन बढ्दै गएको छ । वैदेशिक रोजगारी, उच्च शिक्षाका लागि विदेशिने क्रम र सामाजिक सञ्जालको बढ्दो पहुँचका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाली युवाहरुको वैवाहिक सम्बन्ध जोडिने क्रम बढेको हो ।
दाङमा १० महिनाको अवधिमा मात्रै ३८ जना विदेशी बुहारीले नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय दाङको तथ्यांक अनुसार १० महिनाको अवधिमा नेपाली नागरिकसंग विवाह गरेका ३८ जना विदेशी बुहारीले नेपाली नागरिकता प्राप्त गरेका हुन् ।
नेपालको संविधान अनुसार विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेपछि वैवाहिक अंगिकृत नागरिकता पाउने व्यवस्था छ । नेपालको संविधानको धारा ११ को उपधारा (६) मा यस सम्बन्धी व्यवस्था गरिएको छ ।
दाङमा सिमावर्ती क्षेत्रमा भारतीय महिलासँग नेपाली युवाले विवाह गर्ने प्रचलन रहेको प्रशासकिय अधिकृत बिजय गौतमले बताउनुभयो । वैवाहिक सम्बन्ध हालका वर्षहरूमा युरोप, अमेरिका, अस्ट्रेलिया तथा अन्य एसियाली मुलुकहरूमा समेत विस्तार भएपनि वैवाहिक अंगिकृत नागरिकता बनाउने विदेशी अधिकांश महिला भारतका रहने गरेको उहाँले बताउनुभयो ।
दाङमा गत साउनदेखि वैशाख महिनासम्मको अवधिमा ३८ जनाले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय दाङको तथ्यांकले देखएको छ । साउनमा ४, भदौमा ३, असोजमा २ कार्तिकमा ४, मंसिरमा ६, पुसमा ३ जनाले वैवाहिक अंगिकृत नागरिकता बनाएका छन् । यस्तै माघमा ५, फागुनमा ३, चैतमा ४ र वैशाखमा ४ जनाले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गरेका छन् ।
















