२०८३ साउन ६ गते बुधवार

जलाशय निर्माणले घोराहीका ७३८ हेक्टर जमिन सिँचित


दाङ । घोराही उपमहानगरपालिकाले विभिन्न स्थानमा निर्माण गरेका जलाशयले ७३८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । कृषि उत्पादन वृद्धि, जलस्रोतको संरक्षण र वर्षायामको पानी संकलन गर्ने उद्देश्यले उपमहानगरपालिकाले ४३ वटा कृत्रिम जलाशय निर्माण गरेको छ ।

जलाशयबाट विस्तार गरिएको सिँचाइ सुविधाले खेतीयोग्य जमिनमा उत्पादन बढाउन महत्त्वपूर्ण योगदान पुगेको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले बताउनुभयो । उहाँले कृषि क्षेत्रसँगै जल संरक्षण, वातावरणीय सन्तुलन र पर्यटन प्रवद्र्धनमा पनि जलाशय उपयोगी बन्दै गएको बताउनुभयो ।

घोराहीमा अधिकांश जलाशय सिम भएको जमिनमा ठुलो पोखरी निर्माण गरेर तथा साना खोल्साहरूमा बाँध बाँधेर बनाइएका छन् । वर्षायाममा संकलित पानी हिउँदसम्म खेतीमा प्रयोग हुने गरी संरचना तयार गरिएको उहाँले बताउनुभयो ।

उपमहानगरपालिकाको अनुसार घोराहीका १९ वडामध्ये १४ वटा वडामा कृत्रिम जलाशय निर्माण भएका छन् । वडा नं. ३, ७, ९, १४, १५ र १९ बाहेक अन्य सबै वडामा जलाशय बनाइएका छन् । सबैभन्दा बढी आठ वटा जलाशय वडा नं. १७ मा निर्माण गरिएका छन् ।

यस वडामा कटही, ढिकपुर, आरोग्य, कर्जाही, डवरी, गुलरिया(मघै, ओखरा र कमलपोखरी जलाशय सञ्चालनमा छन् । त्यसपछि वडा नं. १८ मा छ वटा जलाशय निर्माण गरिएका छन्, जहाँ अम्बापुर, गिठेपानी उपल्लो, गिठेपानी तल्लो, सुंगुरे, रानीजरुवा र काभ्रेखोला जलाशय रहेका छन् ।

यस्तै वडा नं. १ मा पनि छ वटा जलाशय निर्माण गरिएका छन् । तीमध्ये घोराही–१ र २ को सिमानामा रहेको चेपे जलाशय विशेष चर्चित छ । करिब साढे सात बिघा क्षेत्रफलमा फैलिएको यो जलाशय अहिले सिँचाइसँगै स्थानीय आकर्षणको केन्द्रसमेत बनेको छ ।

यसैगरी वडा नं २ मा एक, वडा नं. ४ मा छ, वडा नं. ५ मा एक, वडा नं. ८ मा एक, वडा नं.१० मा एक, वडा नं. १२ मा तीन, वडा नं. १३ मा दुई र वडा नं. १६ मा दुई वटा जलाशय निर्माण गरिएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस