२०८३ साउन १८ गते सोमवार

रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउन मुख्यमन्त्रीको निर्देशन


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनुदानको रासायनिक मल वितरणमा समान र स्पष्ट नीति बनाउन निर्देशन दिनुभएको छ । खाद्यन्न बालिसहित उखु, केरा र मकै खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर वितरण प्रक्रिया व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार भएको छलफलमा उहाँले कार्यविधि तयार गर्दा वास्तविक किसानको आवश्यकता र बालीको प्रकृतिलाई आधार बनाउनुपर्ने बताउनुभएको हो ।

बाली परिवर्तन गर्ने किसानले समयमै रासायनिक मल नपाउने अवस्था रहेको उल्लेख गर्दै त्यसलाई समाधान गर्ने गरी वितरण प्रणाली सुधार गर्नेगरी नीति निर्माण गरिने बताउनुभयो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. नितु पण्डितले देशभर वार्षिक करिब १४ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने भए पनि आधाभन्दा कम मात्रामा मात्रै मल उपलब्ध हुने गरेको जानकारी दिनुभयो । उखु, मकै र केरा खेतीमा समेत आवश्यक मात्रामा रासायनिक मल उपलब्ध गराउने विषयमा संघीय कृषि मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा उखु बालीका किसानले रासायनिक मल तथा कृषि औजारमा नीतिगत समस्या झेल्दै आएको बताउँदै खाद्यान्न बालीका किसानसरह सुविधा उपलब्ध गराउनुपर्ने विषय उठान गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस