२०८३ साउन २० गते बुधवार

दाङका विभिन्न वनबाट ५५ नाल अवैध भरुवा बन्दुक बरामद


दाङ । दाङ प्रहरीले ५५ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएको ५५ नाल अवैध भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा साउन १६ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिएको विशेष अभियानका क्रममा जिल्लाका विभिन्न वन क्षेत्रबाट भरुवा बन्दुक बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–५ को हिमाल लालीगुराँस सामुदायिक वनमा लुकाइछिपाइ राखिएको एकनाले भरुवा बन्दुक ७ नाल, खारखोली सामुदायिक वनबाट भरुवा बन्दुक ८ नाल र एउटा नाल मात्र गरी ९ नाल बरामद गरिएको प्रहरी निरीक्षक एक्कबहादुर नेपालीले जानकारी दिनुभयो ।

यसैगरी बंगलाचुली गाउँपालिका–५ मुर्कुटीस्थित बंगलाचुली सामुदायिक वनमा लुकाइछिपाइ राखिएको भरुवा बन्दुक १ नाल, लहरे सामुदायिक वनबाट ५ नाल, बंगलाचुली गाउँपालिका–४ मौवालेख सामुदायिक वनबाट ३ नाल र ल्वाङे भत्कुले सामुदायिक वनबाट ५ नाल गरी ३० नाल बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै, प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–६ ठुलीचौरस्थित राष्ट्रिय वनबाट एक नाले ६ नाल भरुवा बन्दुक, बंगलाचुली–८ को न्यु कालिका सामुदायिक वनबाट ९ नाल र नव चेतनशिल सामुदायिक वनबाट एक नाले भरुवा बन्दुक ३ नाल १८ नाल बन्दुक बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको टोलीले लमही नगरपालिका–९ तरुलियास्थित बिरह सामुदायिक वनको खैरेनी जङ्गलमा लुकाइ छिपाइ राखिएको अवस्थामा एक नाले ७ नाल भरुवा बन्दुक बरामद गरेको छ । बरामद गरिएका सबै अवैध भरुवा बन्दुक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस