दाङ । स्वास्थ्य बिमा कार्यक्रमले आर्थिक रूपमा विपन्न नागरिकलाई उपचारमा राहत पुर्याए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा लिने बिरामीले भने सास्ती खेप्नुपरेको गुनासो गरेका छन् ।
बिरामीका अनुसार अत्यधिक भिड, सीमित जनशक्ति र पटक–पटक लाइन बस्नुपर्ने अवस्थाका कारण बिमामार्फत उपचार लिन आउने सेवाग्राहीले दिनभर अस्पतालमै बिताउनुपर्ने अवस्था रहेको छ ।
घोराहीका धनेश्वर पौडेलले स्वास्थ्य बिमा उपयोगी भए पनि सेवा लिन लामो समय कुर्नुपर्ने समस्या रहेको बताउनुभयो । यस्तै, बंगलाचुलीका डोमबहादुर केसीले बिमा सेवा केही सीमित स्वास्थ्य संस्थामै केन्द्रित हुँदा बिरामीको चाप बढेको भन्दै अन्य अस्पतालमा पनि सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने बिरामीको बढ्दो चाप र भौतिक पूर्वाधारको अभावका बाबजुद सेवा सुधारका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ । प्रतिष्ठानका अनुसार दैनिक करिब चार सय बिरामीले स्वास्थ्य बिमामार्फत सेवा लिने गरेका छन् ।
प्रतिष्ठानका निर्देशक डा. सुरेश रसाइलीले गत आर्थिक वर्षमा स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गरेबापत १८ करोड रुपियाँ भुक्तानी प्राप्त गरिसकेको छ भने थप १६ करोड रुपियाँ प्राप्त हुन बाँकी छ । गत आर्थिक वर्षमा ७४ हजार ७८३ जनाले बिमा सेवा लिएका थिए । तीमध्ये ४३ हजार १६४ महिला र ३१ हजार ६१९ पुरुष रहेका छन् ।





















