दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ निमुवाका ठाकुरप्रसाद थापाले गतवर्षदेखि खेतीपाती गर्नुभएको छैन । एक सिजनमा ९५ मुरी धान फल्दै आएको साढे २२ कट्ठा खेत सिँचाइ अभावमा बाँझै राख्नुपर्दा थापा न्यायका लागि भौँतारिन बाध्य हुनुभएको छ ।
गत वर्षसम्म निमुवा कुलोबाट सिँचाइ गरी खेती गर्दै आउनुभएका थापाको समस्या खेत नजिकै न्यु जयमाँ लक्ष्मी इट्टा उद्योगकै कारण सुरु भएको हो । उद्योगले खेतमा पानी आउने मुख्य कुलो बन्द गरिदिएपछि उहाँको उब्जाउ भूमि मरुभूमि जस्तै बनेको छ ।
थापाले वि.सं. २०६१ सालमा सो खेत खरिद गर्नुभएको थियो । लगातार २२ वर्षसम्म अन्न उब्जाएको खेत एकाएक बाँझो भएसँगै मारमा परेको थापाले गुनासो गर्नुभयो । उद्योगले सिँचाइको कुलो बन्द गर्नुका साथै खेतको केही भागबाट जबरजस्ती माटो समेत खनेर लगेको उहाँको आरोप छ ।
‘वर्षौँदेखि ९५ मुरी धान फल्ने खेत अहिले सिँचाइ नहुँदा बाँझै छ । म माथि सरासर अन्याय भएको छ’ थापाले भन्नुभयो, ‘अहिलेको सरकार तथा स्थानीय प्रशासनले न्याय दिन्छ कि भन्ने आशामा छु ।’
समस्या समाधानका लागि थापाले गत २०८२ साल मङ्सीर २२ गते जिल्ला प्रशासन कार्यालय दाङमा लिखित निवेदन नै दर्ता गराउनुभएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले स्थलगत अनुगमन गरी समस्या सल्टाउने आश्वासन दिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उहाँको दुखेसो छ ।
जिल्ला प्रशासन कार्यालयको उदासिनतापछि उहाँले तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्कालाई समेत मौखिक जानकारी गराउनुभएको थियो । तर, स्थानीय सरकार र प्रशासन दुवैबाट समस्याको समाधान नभएपछि बाध्य भएर मिडियाको शरणमा आउनुपरेको थापाले बताउनुभयो ।
‘मैले प्रशासनलाई फिल्डमै आएर वस्तुस्थिति हेर्न आग्रह गरेको थिएँ, तर कसैले वास्ता गरेनन्,’ उहाँले थप्नुभयो, ‘समयमै यो समस्याको समाधान नभए भोलिका दिनमा थप क्षति हुन सक्छ, त्यसको जिम्मेवारी कसले लिने ?’
उद्योग संचालक भीमसिं रावलले उद्योगका कारण कुलो बन्द भएपनि मोटरबाट पानी लैजान अनुरोध गरेको बताउनुभयो । ‘कुलोमा पानी पनि आउँदैन् । कुलोबाट आउने पानीभन्दा हामीले पोखरीको पानी मोटरबाट दिन खोजेका थियौँ, तर उहाँ सम्पर्कमै आउनुभएको छैन् ।’ रेडियो हाम्रो पहुँचसंगको कुराकानीमा संचालक रावलले उद्योगले उहाँको खेतबाट माटो लिएको कुरा तथ्यहिन भएको बताउनुभयो । उद्योगले आफ्नो जग्गाभन्दा अरुबाट माटो नउठाएको बताउनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले पिडित ठाकुरप्रसाद थापालाई कार्यालयमा सम्पर्कमा आउन आग्रह गर्नुभयो । उहाँले घटनाको प्रकृति अनुसार फिल्डमै पुगेर अध्ययन गर्न सकिने बताउनुभयो ।
इट्टा व्यवसायी संघ दाङका अध्यक्ष रोम वलीले कुलो बन्द गर्नु गलत भएको तर थप कुरा बुझेर आवश्यक सहजीकरण गर्न सकिने बताउनुभयो । उहाँले यस विषयलाई लम्ब्याउनुभन्दा पनि दुवै पक्ष बसेर आपसी समझदारीमा समाधान खोज्नुपर्ने बताउनुभयो ।





















