दाङ । दाङमा धागोबाट विभिन्न सामग्री बनाउने सीप सिकेर महिलाहरू आत्मनिर्भर बन्न थालेका छन् । घोराहीमा रहेको स्वप्न होजियारी उद्योगले महिलालाई तालिम र रोजगारीसँग जोड्दै आएपछि उनीहरूको दैनिकीमा समेत परिवर्तन आएको हो ।
बंगलाचुलीकी सुमिला नेपालीले छोराछोरीलाई विद्यालय पठाएपछि खाली समय बिताउने गरे पनि अहिले धागोबाट विभिन्न सामग्री बुन्ने काममा व्यस्त बन्नु भएको छ । नयाँ सीपसँगै आम्दानीको अवसर पाएपछि आत्मनिर्भर बन्ने आत्मविश्वास बढेको उहाँको भनाइ छ ।
त्यस्तै, पढाइका लागि पूर्वी रुकुमबाट घोराही आएकी झरना बुढामगरले पनि खाली समयमा उद्योगमा पुगेर धागोबाट सामग्री बनाउने सीप सिकिरहनु भएको छ । उद्योगमा हाल स्याउ, सुन्तला, गाँजर, खेलौना, वर्णमाला लगायत विद्यालयमा प्रयोग हुने विभिन्न सामग्री धागोबाटै बनाइन्छ ।
उद्योगकी प्रमुख रचना सुवेदीका अनुसार करिब ५६ प्रकारका सामग्री उत्पादन हुँदै आएका छन् । बालबालिकाका लागि सुरक्षित, पुनः प्रयोग गर्न मिल्ने र वातावरणमैत्री भएकाले धागोबाट बनेका सामग्रीको माग बढ्दै गएको उद्योगले जनाएको छ ।
घोराहीमा २०६३ सालमा स्थापना भएको उद्योगमा १५ जनाभन्दा बढी श्रमिक कार्यरत छन् । उद्योगले काम सिकाउनुका साथै सामग्री बिक्रीबाट प्राप्त रकमको ५० प्रतिशत श्रमिकलाई दिने गरेको छ । धागो र सियोबाट सुरु भएको सीप अहिले दाङका धेरै महिलाका लागि आम्दानीसँगै आत्मनिर्भर बन्ने माध्यम बन्दै गएको छ ।





















