२०८३ साउन २५ गते सोमवार

तराईमा पनि फल्छ स्याउ, दाङमा व्यावसायिक खेतीको परीक्षण सफल


दाङ । तराईको हावापानीमा समेत स्याउ फलाउन सकिने भएपछि दाङको घोराहीमा सफल परीक्षण गरिएको छ । घोराही उपमहानगरपालिका–११ पलासपुरका मनु बुढामगरले हर्मन ९९, अन्ना र डोरसेट गोल्डेन जातका स्याउ फलाएर तराईमा पनि स्याउ खेती सम्भव हुने पुष्टि गर्नुभएको हो ।

भारतको हिमाचल प्रदेशको सिम्लामा २२ वर्ष स्याउ खेतीमा काम गर्नुभएका बुढामगरले तीन वर्षअघि तीन प्रजातिका स्याउका १०–१० वटा बिरुवा लगाएर परीक्षण सुरु गर्नुभएको थियो । परीक्षण सफल भएपछि अहिले उहाँले तीन बिघा जग्गामा व्यावसायिक स्याउ खेती सुरु गर्नुभएको छ ।

बुढामगरले तराईमा फल्ने तीन प्रजातिसहित मध्यपहाड र हिमाली क्षेत्रमा उत्पादन हुने गरी ४५ जातका करिब ७० हजार स्याउका बिरुवा उत्पादन गर्नुभएको छ । नर्सरी तथा स्याउ खेतीमा हालसम्म करिब एक करोड रुपैयाँ लगानी भइसकेको उहाँले बताउनुभएको छ ।

दाङमा परीक्षण सफल भएपछि गत वर्ष मात्रै दाङ र सुर्खेतमा १५ हजार बिरुवा बिक्री भएको र मागअनुसार बिरुवा पुर्‍याउन नसकेको उहाँको भनाइ छ । तराईमा बिरुवा रोपेको दुई वर्षमै फल लाग्न सुरु हुने र उपयुक्त जातको स्याउ ४८ डिग्री सेल्सियससम्म तापक्रम हुने क्षेत्रमा पनि उत्पादन गर्न सकिने बुढामगरको दाबी छ ।

तराईमा स्याउ फल्न थालेपछि स्थानीय किसान पनि आकर्षित भएका छन् । घोराही–११ का अनुराम बुढाले समेत १०० वटा बिरुवा लगाउनुभएको छ । नेपालमा वार्षिक १० अर्ब रुपैयाँभन्दा बढीको स्याउ आयात हुने गरेको तथ्यांक छ । तराईमा समेत व्यावसायिक स्याउ खेती विस्तार गर्न सके आयात घटाउँदै स्वदेशी उत्पादन बढाउन सकिने सम्भावना देखिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस