दाङ।
नेपाल विद्यालय कर्मचारी परिषद् दाङ जिल्ला कार्यसमितिको बैठक घोराहीस्थित बालविकास माध्यमिक विद्यालयमा भएको छ । जिल्ला अध्यक्ष निमबहादुर ओलीको अध्यक्षता तथा नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय समितिका सदस्य मिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा बसेको बैठकले परिषद्को संगठनात्मक सुदृढीकरण तथा आगामी महाधिवेशनलगायत विभिन्न विषयमा छलफल गर्दै महत्वपूर्ण निर्णयहरू गरेको छ ।
आइतबार सम्पन्न बैठकले परिषद्को नवीकरण शुल्क एक हजार रुपैयाँ तोक्ने निर्णय गरेको छ । साथै, आगामी असोज ८/९ गते घोराहीमा आयोजना हुने नेपाल विद्यालय कर्मचारी परिषद्को सातौँ महाधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न गर्न जिल्ला कार्यसमिति, पालिका कार्यसमिति तथा विभिन्न विभागलाई जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरिएको छ ।
जिल्ला कार्यसमितिको कार्यसम्पादनलाई थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउन विभिन्न विभागीय प्रमुखसमेत चयन गरिएको छ । जसअनुसार सञ्चार विभाग प्रमुखमा प्रलाद आचार्य र संगठन विभाग प्रमुखमा पूर्णबहादुर विक चयन हुनुभएको छ ।
त्यसैगरी, जिल्लाका विभिन्न पालिकाबाट जिल्ला कार्यसमितिमा सदस्यहरू मनोनयन गरिएको छ । मनोनित सदस्यहरूमा घोराही उपमहानगरपालिकाबाट चन्द्र पुन र बसन्ता केसी, लमही नगरपालिकाबाट पुनम चौधरी, बबई गाउँपालिकाबाट हिरासिंह बोहरा, राप्ती गाउँपालिकाबाट तुल्सीराम पोख्रेल, बंगलाचुली गाउँपालिकाबाट प्रलाद आचार्य, शान्तिनगर गाउँपालिकाबाट उपेन्द्र खड्का र राजपुर गाउँपालिकाबाट दीपक नेपाली रहनुभएको छ ।
बैठकले जिल्ला परिषद् दाङको स्वामित्वमा रहेको माछापुच्छ्रे बैंक लिमिटेड, घोराही शाखामा परिषद्को खाता सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । उक्त खाता जिल्ला अध्यक्ष निमबहादुर ओलीको अनिवार्य हस्ताक्षर तथा सचिव र कोषाध्यक्षमध्ये एक जनाको हस्ताक्षरबाट सञ्चालन हुने व्यवस्था गरिएको छ ।
त्यसैगरी, बैठकले तप्तप्रसाद शर्मा, माधव पराजुली र लक्ष्मण चौधरीलाई परिषद् दाङको सल्लाहकार चयन गरेको छ । बैठकले परिषद्को वर्तमान कार्यसमितिलाई सहयोग तथा मार्गदर्शन गर्दै आएका पूर्वकार्यसमिति तथा सम्पूर्ण सदस्यहरूप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि परिषद्को संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै विद्यालय कर्मचारीका हकहितका सवाललाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।





















