दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नु भएको छ । नेपाली कांग्रेसले साउन १२ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने भएको हो ।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठकको तयारी गर्न अनुरोध गरिसकेको मुख्यमन्त्री आचार्यका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताउनुभयो । एमाले र नेकपाबिच भएको सहमतिअनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ । नयाँ सत्ता समीकरणअनुसार नेकपालाई सरकारमा सहभागी गराउने विषयमा भने अन्तिम सहमति जुट्न बाँकी छ ।
नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारुले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ९ मन्त्रालय छन् । हाल मुख्यमन्त्रीसहित एमालेका पाँच र जनता समाजवादी पार्टी नेपालका दुई मन्त्री सरकारमा छन् ।
८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २९ र नेकपाका सभामुखसहित १३ सांसद छन् । सभामुखले मतदान गर्न नपाउने भएकाले मुख्यमन्त्री आचार्यलाई बहुमत पुर्याउन थप दलको समर्थन आवश्यक पर्ने देखिएको छ ।





















