दाङ। हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले बितेको आर्थिक वर्षमा सवा १ अर्ब भन्दा बढीको कारोबार गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब १३ करोड ७७ लाख रुपैयाँ कारोबार गर्ने प्रक्षेपण गरेकोमा लक्ष्यभन्दा बढी कारोबार गर्न सफल भएको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार १ अर्ब १४ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । जुन प्रक्षेपित लक्ष्यभन्दा ९४ लाख रुपैयाँ बढी हो । संस्थाले सो कारोबारमा १ करोड ३७ लाख रुपैयाँ बराबरको खुद नाफा गर्न सफल भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
दैलेखको गुराँसेमा साउन २९ गतेदेखि ३१ गतेसम्म तीन दिन सञ्चालित आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम र बजेट तर्जुमासम्बन्धी कार्यशालामा सो कुराको जानकारी गराइएको हो ।

वितेको आर्थिक वर्ष २०८२/०८३ का लागि तय गरिएका अधिकांश सूचकहरू लक्ष्यभन्दा बढी हासिल भएको समीक्षा गरिएको थियो । संस्थाद्वारा सञ्चालित सबै व्यवसाय प्रतिफलमुखी रहेको समेत कार्यशालामा निष्कर्ष निकालिएको छ ।
संस्थाको शेयर सदस्य संख्या ४ हजार ७ सय ३५ बाट बढेर ५ हजार ३ सय ८ पुगेको छ । स्वरोजगारी तथा प्रत्यक्ष रोजगारीको संख्यामा समेत वृद्धि भएको छ । गत वर्षसम्म ३३ करोड ९२ लाख ४३ हजार रुपैयाँ रहेको संस्थाको वासलात करिब १२ करोड रुपैयाँले वृद्धि भई ४५ करोड ६५ लाख ५४ हजार रुपैयाँ पुगेको छ ।
संस्थाका गतिविधिहरू सदस्य सेवामुखी तथा समुदायप्रति उत्तरदायी रहेको समेत कार्यशालामा समीक्षा गरिएको थियो । कार्यशालाले आर्थिक वर्ष २०८३/०८४ का लागि दोस्रो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार वृद्धि तथा विकासका लक्ष्य निर्धारण गरेको छ । चालु आर्थिक वर्षमा १ अर्ब ४३ करोड २७ लाख रुपैयाँ कारोबार गर्ने र २ करोड रुपैयाँभन्दा बढी खुद बचत आर्जन गर्ने लक्ष्य लिइएको छ ।
यस्तै, वासलातमा झण्डै १४ करोड रुपैयाँले वृद्धि गर्ने, १ हजारभन्दा बढी नयाँ सदस्य थप गर्ने, सदस्यहरूका लागि उद्यमशीलता तथा सीप विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र कारोबारलाई सदस्य तथा समुदाय केन्द्रित बनाउने लक्ष्य निर्धारण गरिएको छ ।
यस्तै, सदस्यहरूले उत्पादन गर्ने र संस्थाले बजारीकरण गर्ने प्रकृतिका थप नयाँ व्यवसाय सञ्चालन गर्ने योजना समेत बनाइएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
सामुदायिक विकास कोषमार्फत दूध उत्पादनलाई प्रोत्साहन गर्न नयाँ भैँसी खरिद गर्ने कृषक सदस्यलाई प्रति एक वटा भैँसी खरिदमा ५ हजार रुपैयाँ नगद अनुदान सहयोग गर्ने र संस्थाबाट लिएको ऋणको ब्याजमा ५ प्रतिशत ब्याज अनुदान दिने कार्यक्रमसमेत प्रस्ताव गरिएको छ ।
यसैगरी, स्वरोजगारी सिर्जना गर्ने, सदस्यलाई आर्थिक उपार्जनमा जोड्ने तथा सदस्य मैत्री र सुशासनयुक्त व्यवस्थापन प्रणालीलाई थप परिस्कृत गर्ने लक्ष्य निर्धारण गरिएको छ। कार्यशालाबाट तर्जुमा गरिएको नीति, कार्यक्रम तथा बजेट आगामी साधारणसभाबाट पारित गर्ने गरी कार्यशालाको आइतबार समापन गरिएको हो ।
तर्जुमा गरिएका नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि योजनाअनुसार अगाडि लैजानुपर्ने संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बताउनुभयो । नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संस्थाको लक्ष्य प्राप्तिका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले संस्थाले हासिल गरेका उपलब्धिलाई निरन्तरता दिँदै सदस्यको आर्थिक तथा सामाजिक विकासमा केन्द्रित भएर आगामी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा सञ्चालक शारदा स्वर्णकारले संस्थाले तय गरेका नीति तथा कार्यक्रमलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सदस्यको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
यस्तै, विद्यालय सञ्चालन उपसमिति सदस्य उत्तम प्रसाद भण्डारीले आगामी नीति तथा कार्यक्रमलाई योजनाबद्ध र प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। उहाँले संस्थाले शिक्षा, रोजगारी, उद्यमशीलता तथा सदस्यको आर्थिक उपार्जनसँग जोडिएका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
समापन कार्यक्रमको सहजीकरण संस्थाका सचिव जीवराज अधिकारीले गर्नु भएको हो । सहकारी संस्थाले हाल बचत तथा ऋण विभाग, सहकारी पेट्रोल पम्प, रेडियो हाम्रो पहुँच, हाम्रो पहुँच सेकेण्डरी स्कुल, डेरी विभाग र कृर्षि विभाग सञ्चालन गरेको छ । त्यस्तै संस्थामा अहिले ५ हजार ३ सय बढी सदस्यहरु रहेका छन् भने एक सय १३ जना स्वरोजगार रहेका छन् ।






















