दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तारलाई लिएर सत्तारुढ दल नेकपा भित्रको आन्तरिक किचलो सतहमा आएको छ । साविकका नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसदलाई सहभागी नगराई साविक माओवादी केन्द्रबाट मात्रै तीन जनालाई मन्त्री बनाउने तयारी पछि असन्तुष्टि सार्वजनिक भएको हो ।
साविक नागरिक उन्मुक्ति पार्टीबाट नेकपामा समाहित भएका प्रदेशसभा सदस्य राजकुमार चौधरीले पार्टी नेतृत्वबाट भएको मन्त्री सिफारिसप्रति असन्तुष्टि जनाउँदै आफूलाई प्रदेशसभामा विपक्षी दलको हैसियतमा राख्न माग गर्नु भएको छ ।
चौधरीले लुम्बिनी प्रदेशसभा सचिवालयमा बुझाएको पत्रमा पार्टी एकताको मूल मर्म र भावनाविपरीत साविक नेकपा (माओवादी केन्द्र) पृष्ठभूमिबाट एकलौटी रूपमा मन्त्रीहरुबारे निर्णय गरिएकाले सत्ता पक्षमा बस्न नसक्ने बताउनुभयो ।
एउटै दलका रूपमा प्रदेश सरकारमा सहभागी हुने तयारी भइरहेका बेला सोही दलका सांसदले आफूलाई विपक्षी बेन्चमा राख्न माग गर्नुले पार्टीभित्र शक्ति बाँडफाँट, प्रतिनिधित्व र निर्णय प्रक्रियाप्रति असन्तुष्टि रहेको संकेत गरेको छ ।
चौधरीले सभामुखसमक्ष आफूलाई संवैधानिक तथा संसदीय मर्यादाअनुसार विपक्षी बेन्चमा बस्ने व्यवस्था मिलाइदिन आग्रह गर्नु भएको छ । संसदीय अभ्यास, परम्परा र मर्यादाअनुसार आवश्यक व्यवस्था गर्नसमेत उहाले माग गर्नुभयो ।
चौधरीले सरकारमा जाने मन्त्रीहरुका बारेमा नेकपा नेतृत्वले खुला र पारदर्शी छलफल नगरी मिडिया ट्रायल गरेर सोही आधारमा निर्णय लाद्न खोजेको आफूले बुझेपछि विपक्षी बेन्चमा बस्ने निर्णयमा पुगेको बताउनुभयो ।






















