२०८३ भाद्र ८ गते सोमवार

तुलसीपुर खानेपानीले बेलुवामा तीन लाख लिटर क्षमताको टंकी निर्माण गर्ने

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानीको सेवालाई विस्तार गर्नका लागि थप टंकी निर्माण गर्ने भएको छ । तुलसीपुर–९ बेलुवामा करिब ३ लाख लिटर क्षमताको टंकी निर्माण गर्न लागेको संस्थाका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिनुभयो ।

टंकी निर्माणका लागि अहिले जग्गा खरिद गर्ने तयारी गरिएको छ । संस्थाले आइतबार टंकी निर्माणस्थलमा सार्वजनिक सुनुवाई गरेर जग्गा खरिद गर्न लागेको जनाएको हो ।

संस्थाका अध्यक्ष भण्डारीले संस्थाले करिब १६ धुर जग्गा खरिद गर्न लागेको बताउनुभयो । प्रचलित मूल्य अनुसार जग्गा खरिद गरिने उहाँले बताउनुभयो । टंकी निर्माणसंगै करिब १ हजार उपभोक्तालाई खानेपानीको सहज व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष घनश्याम ढकालले खानेपानी संस्थाले जग्गा खरिद गर्दा आउन सक्ने कानुनी बाधा अड्चनमा वडा सरकारले सहजीकरण गर्ने बताउनुभयो । जग्गाको सरकारी दररेट कम भएपनि चलनचल्तीको मूल्यमा किन्नुपर्ने भएकाले सार्वजनिक सुनुवाईमार्फत खरिद प्रक्रिया अगाडी बढाउनु राम्रो भएको बताउनुभयो ।

वडा नम्बर ८ का अध्यक्ष धर्मराज वलीले तुलसीपुर खानेपानी संस्थाले नागरिकलाई खानेपानीको सहज व्यवस्थापनका लागि प्रक्रिया अगाडी बढाएकोमा प्रशंसा गर्नुभयो ।
यस्तै खानेपानी संस्थाका कानुनी सल्लाहकार बिष्णुमणी धितालले नेपाल सरकारको अधिनमा रहि संचालनमा रहेको संस्थाले व्यक्तिले जस्तै जग्गा खरिद गर्न पाउने बताउनुभयो । तर केहि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने उहाँको भनाई छ ।

सार्वजनिक सुनुवाई कार्यक्रममा रास्वपा प्रतिनिधि बलिराम खत्री, नेपाली कांग्रेसका प्रतिनिधि भागीराम थापा, श्रम संस्कृती पार्टीका प्रतिनिधि टोप बहादुर महतारा, खानेपानी संस्थाको सिस्टम नम्बर ५ का संयोजक राम वरण बैश्य, पार्सद सदस्य कमला सापकोटा , समाजसेवी केशव सापकोटा, भद्रकाली टोलका अध्यक्ष द्रोण कुमार शर्मा, हातेमालो टोलका अध्यक्ष हिमलाल थापा लगायतले खानेपानीको समस्या दिगोरुपमा समाधान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण संस्थाका प्रशासन प्रमुख सुशील श्रेष्ठले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस