२०८३ कार्तिक ११ गते बुधवार

महेन्द्र माविलाई पूर्व विद्यार्थीहरुले सरसफाइ उपकरण हस्तान्तरण गरे


दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित महेन्द्र माध्यमिक विद्यालयबाट २०६१ सालमा एसएलसी उत्तीर्ण गरेका पूर्व विद्यार्थीहरूले सरसफाइका उपकरणहरू हस्तान्तरण गरेका छन् ।

पूर्व विद्यार्थी नारायण भण्डारीको अगुवाइमा सहयोग रकम संकलन गरी विद्यालयलाई पहिलो चरणमा ग्रास कटरलगायत करिब २५ हजार रुपैयाँ बराबरका सरसफाइ उपकरण हस्तान्तरण गरिएको हो । संकलित कुल ५१ हजार ५ सय १३ रुपैयाँमध्ये पहिलो चरणमा उक्त सामग्री उपलब्ध गराइएको अभियानका संयोजक नारायण भण्डारीले जानकारी दिनुभयो ।

पूर्व विद्यार्थीहरूले व्यक्तिगत रूपमा गरेको सहयोगमा सुमन बस्यालले ५ हजार, नारायण भण्डारीले ५ हजार, प्रतिभा खड्काले २ हजार, सुरज भण्डारीले ५ हजार, शान्तराज गौतमले २ हजार, चक्र वलीले १ हजार ९ सय ९० रुपैयाँ सहयोग गरेका हुन् ।

यस्तै अतुल कुँवरले ११ हजार, मधुसूदन गौतमले २ हजार ५, अभियान वलीले ५ हजार ५ सय ५५, सागर पौडेलले २ हजार ५, उमा सुवेदीले २ हजार ५ सय ५, युवराज बस्नेतले ३ हजार ३ सय ३३, माधव बस्नेतले २ हजार ५ सय, ज्ञानबहादुर विकले २ हजार २५ र सुरेश ताम्राकारले २ हजार १ सय रुपैयाँ गरि ५१ हजार ५ सय १३ रूपैयाँ सङ्कलन भएको थियो ।

पूर्व विद्यार्थीहरूले सोमबार एक कार्यक्रम आयोजना गरी प्रधानाध्यापक ज्ञानबहादुर केसीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पूर्व विद्यार्थीहरू नारायण भण्डारी, प्रतिभा खड्का, सुरज भण्डारी र माधव बस्नेतलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा अभियानका संयोजक भण्डारीले सहयोग रकम सामान्य भएपनि विद्यालयको थप प्रगतिका लागि पूर्व विद्यार्थीहरूले माया र अपनत्व बाँडेको बताउनुभयो । उहाँले आगामी दिनमा विद्यालयको आवश्यकताअनुसार थप सहयोग सामग्री हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर केसीले विद्यालयप्रतिको माया र सहयोगका लागि पूर्व विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सहजीकरण शिक्षक एकराज भण्डारीले गर्नुभएको हो ।

यसैबीच, विद्यालयको समग्र विकास योजनाका लागि प्राइम फेस मल्टिपर्पोज प्रालीका इन्जिनियर तथा वास्तुविज्ञ विक्रम बाबु केसीले गार्डेनिङ, सडक पहुँच, खेलमैदान तथा मुख्य प्रवेशद्वारको आकर्षक थ्रीडी डिजाइन र ड्रइङ तयार गरी विद्यालयलाई निशुल्क हस्तान्तरण गर्नुभएको छ ।

साथै, आवश्यक प्रारम्भिक लागत अनुमानसमेत तयार गरिएको छ । विद्यालयको सौन्दर्य, सहज आवागमन, विद्यार्थीमैत्री वातावरण र व्यवस्थित पूर्वाधारलाई प्राथमिकतामा राखेर व्यवहारिक तथा आकर्षक डिजाइन तयार गरिएको इन्जिनियर केसीले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस