दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित महेन्द्र माध्यमिक विद्यालयबाट २०६१ सालमा एसएलसी उत्तीर्ण गरेका पूर्व विद्यार्थीहरूले सरसफाइका उपकरणहरू हस्तान्तरण गरेका छन् ।
पूर्व विद्यार्थी नारायण भण्डारीको अगुवाइमा सहयोग रकम संकलन गरी विद्यालयलाई पहिलो चरणमा ग्रास कटरलगायत करिब २५ हजार रुपैयाँ बराबरका सरसफाइ उपकरण हस्तान्तरण गरिएको हो । संकलित कुल ५१ हजार ५ सय १३ रुपैयाँमध्ये पहिलो चरणमा उक्त सामग्री उपलब्ध गराइएको अभियानका संयोजक नारायण भण्डारीले जानकारी दिनुभयो ।
पूर्व विद्यार्थीहरूले व्यक्तिगत रूपमा गरेको सहयोगमा सुमन बस्यालले ५ हजार, नारायण भण्डारीले ५ हजार, प्रतिभा खड्काले २ हजार, सुरज भण्डारीले ५ हजार, शान्तराज गौतमले २ हजार, चक्र वलीले १ हजार ९ सय ९० रुपैयाँ सहयोग गरेका हुन् ।
यस्तै अतुल कुँवरले ११ हजार, मधुसूदन गौतमले २ हजार ५, अभियान वलीले ५ हजार ५ सय ५५, सागर पौडेलले २ हजार ५, उमा सुवेदीले २ हजार ५ सय ५, युवराज बस्नेतले ३ हजार ३ सय ३३, माधव बस्नेतले २ हजार ५ सय, ज्ञानबहादुर विकले २ हजार २५ र सुरेश ताम्राकारले २ हजार १ सय रुपैयाँ गरि ५१ हजार ५ सय १३ रूपैयाँ सङ्कलन भएको थियो ।
पूर्व विद्यार्थीहरूले सोमबार एक कार्यक्रम आयोजना गरी प्रधानाध्यापक ज्ञानबहादुर केसीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा पूर्व विद्यार्थीहरू नारायण भण्डारी, प्रतिभा खड्का, सुरज भण्डारी र माधव बस्नेतलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा अभियानका संयोजक भण्डारीले सहयोग रकम सामान्य भएपनि विद्यालयको थप प्रगतिका लागि पूर्व विद्यार्थीहरूले माया र अपनत्व बाँडेको बताउनुभयो । उहाँले आगामी दिनमा विद्यालयको आवश्यकताअनुसार थप सहयोग सामग्री हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक ज्ञानबहादुर केसीले विद्यालयप्रतिको माया र सहयोगका लागि पूर्व विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सहजीकरण शिक्षक एकराज भण्डारीले गर्नुभएको हो ।
यसैबीच, विद्यालयको समग्र विकास योजनाका लागि प्राइम फेस मल्टिपर्पोज प्रालीका इन्जिनियर तथा वास्तुविज्ञ विक्रम बाबु केसीले गार्डेनिङ, सडक पहुँच, खेलमैदान तथा मुख्य प्रवेशद्वारको आकर्षक थ्रीडी डिजाइन र ड्रइङ तयार गरी विद्यालयलाई निशुल्क हस्तान्तरण गर्नुभएको छ ।

साथै, आवश्यक प्रारम्भिक लागत अनुमानसमेत तयार गरिएको छ । विद्यालयको सौन्दर्य, सहज आवागमन, विद्यार्थीमैत्री वातावरण र व्यवस्थित पूर्वाधारलाई प्राथमिकतामा राखेर व्यवहारिक तथा आकर्षक डिजाइन तयार गरिएको इन्जिनियर केसीले बताउनुभयो ।






















