२०८३ भाद्र ९ गते मङ्गलवार

तुलसीपुरलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने अभियान


तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले नगरलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने अभियान सुरु गरेको छ। पालिकाको बजार व्यवस्थापन उपसमितिको अगुवाइमा बजारलाई सुरक्षित, सुन्दर तथा ट्राफिकमैत्री बनाउने उद्देश्यले मंगलबारदेखि बजार व्यवस्थापन तथा ट्राफिक सचेतना अभियान सुरु गरिएको हो ।

नगर क्षेत्रभित्र बढ्दो सवारी चाप, जथाभावी पार्किङ, सडक अतिक्रमण तथा ट्राफिक अव्यवस्थालाई न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षित र सहज आवतजावतको वातावरण निर्माण गर्ने लक्ष्यका साथ घोराही रोड, सल्यान रोड, बसपार्क तथा बाहिनीचोक क्षेत्रमा सवारी चालकलाई विशेष अभिमुखीकरण गरिएको छ।

बजार व्यवस्थापन उपसमिति संयोजक तुलाराम नेपालीले बजार व्यवस्थापन सडक खाली गराउने अभियान मात्र नभई सभ्य, अनुशासित र व्यवस्थित तुलसीपुर निर्माणको आधार भएको बताउनुभयो। नगरको सौन्दर्य, व्यावसायिक वातावरण र नागरिकको सुरक्षाका लागि सबै व्यवसायी, सवारी चालक तथा सर्वसाधारणले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्नेमा जोड दिनुभयो। पालिकाले सञ्चालन गरेको अभियानलाई सफल बनाउन सबैको साथ, सहयोग र सकारात्मक सहभागिता आवश्यक रहेको उहाँले बताउनुभयो। अभियानको पहिलो दिन अटोसहित साना तथा ठूला सवारीसाधनका चालकलाई सम्झाइबुझाइ गरी ट्राफिक नियम पालना गर्न सचेत गराइएको थियो।

यस्तै, बजार व्यवस्थापन उपसमिति सदस्य यमराज केसीले बजार क्षेत्रलाई व्यवस्थित बनाउन सम्बन्धित सबै पक्षको सहकार्य आवश्यक रहेको बताउनुभयो। जथाभावी पार्किङ, सडक अतिक्रमण तथा नियमविपरीत सवारी सञ्चालनले दुर्घटनाको जोखिम बढाउनुका साथै बजारको सुन्दरता र व्यवस्थापनमा समेत नकारात्मक असर पार्ने उहाँको भनाइ थियो।

अर्का सदस्य मोहन विकले सबै नागरिकले आफ्नो दायित्व बुझेर ट्राफिक नियमको पालना गरे मात्रै व्यवस्थित तुलसीपुर निर्माण सम्भव हुने बताउनुभयो।

उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले बजार व्यवस्थापन पालिकाको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व भएको बताउनुभयो। सार्वजनिक सडक, फुटपाथ तथा बजार क्षेत्रलाई व्यवस्थित राख्दै ट्राफिक नियमको पालना गर्न सके नगरको अनुशासन, व्यावसायिक वातावरण र नागरिकको जीवनशैलीमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो।

अभियानको पहिलो दिन सडकमा ट्राफिक नियमविपरीत पार्किङ गर्ने, सही लेनको प्रयोग नगर्ने तथा अन्य नियम उल्लङ्घन गर्ने सवारी चालकलाई सडकमै अभिमुखीकरण गरिएको थियो। आगामी दिनमा पनि नियमविपरीत कार्य गर्ने सवारीसाधनमा ह्विल लक गर्नुका साथै प्रचलित कानुनबमोजिम कारबाही गरिने शाखा प्रमुख श्रेष्ठले जानकारी दिनुभयो।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ हवल्दार थम्मनबहादुर डाँगीले ट्राफिक नियमको पालना गर्नु प्रत्येक नागरिकको कर्तव्य भएको बताउनुभयो। बजार क्षेत्रमा सवारी चालक तथा व्यवसायीलाई ट्राफिक नियम पालना गर्न सचेत गराइएको उहाँले जानकारी दिनुभयो। सचेत गराउँदा पनि नियमविपरीत सवारी सञ्चालन गरेको, जथाभावी पार्किङ गरेको वा अन्य ट्राफिक नियम उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने उहाँले बताउनुभयो।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको बजार व्यवस्थापन समितिका पदाधिकारी , कर्मचारी, नगर प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि, व्यवसायी, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तुलसीपुर उपमहानगरपालिकाले बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम, नियमित अनुगमन तथा ट्राफिक व्यवस्थापन अभियानलाई निरन्तरता दिने जनाएको छ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस