दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले मंसिर १५ गतेदेखि पुस मसान्तसम्म पहिलो चरणको संगठनात्मक अभियान सञ्चालन गर्ने भएको छ ।
जिल्ला अध्यक्ष गणेशप्रसाद आचार्यको अध्यक्षतामा घोराहीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राजनीतिक अन्योलता र भ्रमका विरुद्ध विचार, सुशासन र रूपान्तरणका लागि ‘संगठनात्मक पुनर्गठन तथा राजनीतिक पुनर्ताजगी’ अर्थात् ‘सापुरापु’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
अभियानअन्तर्गत पार्टीको साधारण सदस्यता वितरण तथा नवीकरण, स्थानीय संगठन गठन तथा पुनर्गठन, प्रशिक्षण, छलफल र अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन गरिनेछ । आवश्यकताअनुसार स्थानीय तहले जिल्ला समितिको समन्वयमा पालिका सम्मेलनसमेत गर्न सक्ने जनाइएको छ ।
यसैबीच बैठकले जिल्लाका विभिन्न सार्वजनिक सरोकारका विषयमा समेत ध्यानाकर्षण गराएको छ । घोराही–तुलसीपुर चारलेन सडक निर्माणमा भइरहेको ढिलासुस्ती, घोराही–मुरकट्टी सडक खण्डको दुरवस्था तथा त्यस क्षेत्रका नागरिकले भोग्नुपरेको समस्याप्रति बैठकले चिन्ता व्यक्त गरेको छ ।
त्यस्तै धानखोला–लमही सडक खण्डअन्तर्गत भालुबाङ–लमही क्षेत्रमा चारलेन सडक निर्माणमा देखिएको अवरोध, हुलाकी राजमार्ग निर्माणको ढिलासुस्ती तथा स्वास्थ्य बिमा गरेका बिरामीले अस्पतालमा उपचार गराउँदा भोग्नुपरेको झन्झटिलो प्रक्रियाप्रति पनि बैठकले ध्यानाकर्षण गराएको छ ।
यी समस्या तत्काल समाधान गर्न सरकार तथा सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गर्ने निर्णय गरिएको राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
मञ्चका संयोजक श्रेष्ठको अध्यक्षता तथा मञ्चका संरक्षक एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको आतिथ्यमा बसेको बैठकले दिवसलाई प्रभावकारी रूपमा मनाउने निर्णय गरेको हो ।


























