दाङ । बुधबारको बिनाशकारी बाढीपछि सम्पर्कबिहिन हुने दाङका नागरिकको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यालय दाङका अनुसार २२ जना सम्पर्कबिहिन भएको पाँच जना सम्पर्कमा आएपछि सम्पर्कबिहिन हुनेको संख्या १७ मा झरेको थियो । तर पछिल्लो अपडेट बिहिबार दिउँसो ४ बजेसम्मको विवरण अनुसार थप ११ जना सम्पर्कबिहिन भएका छन् ।
पछिल्लो विवरण अनुसार थप ११ जना हराएको विवरण सार्वजनिक भएपछि दाङबाट सम्पर्कविहीन हुनेहरूको कुल संख्या २८ पुगेको हो । यसअघि हराएका पाँच जना सम्पर्कमा आइसकेका छन् । सम्पर्कमा आएकासहित ३३ जना हराएका थिए ।
पछिल्लो पटक सम्पर्कविहीन हुनेहरूमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ निवासी तथा हाल अपर त्रिशुली हाइड्रोपावर रसुवामा कार्यरत रन्जित वली, तुलसीपुर वडा नं. २ का देवबहादुर गाहा मगर, तुलसीपुर वडा नं. १९ निवासी जयमान विश्वकर्मा, सुरेश चौधरी, लालबहादुर सुनार तथा गोपाल पुन मगर रहेका छन् ।
त्यसैगरी रुकुम पूर्व घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने मिलन श्रेष्ठ, तुलसीपुर वडा नं. १३ का ३० वर्षीया रसुवामा टुरिष्ट गाइडको काम गर्ने नारायणी पराजुली, तुलसीपुर वडा नं. ६ घर भई रसुवा धुन्चे ब्यारेकमा कार्यरत ४२ वर्षीय नेपाली सेना टेकबहादुर राना पनि सम्पर्कविहीन हुनुभएको छ ।
यस्तै सल्यान त्रिवेणी गाउँपालिका–५ घर भई तुलसीपुर बस्दै आएका तथा नुवाकोट हाइड्रोपावरमा कार्यरत प्रेम महतरा र २७ वर्षीय बादल महतरासमेत सम्पर्कमा आएका छैनन् । सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय तहबीच समन्वय भइरहेको छ । प्रभावित क्षेत्रमा रहेका आफन्त तथा उद्धार टोलीलाई उनीहरूको खोजतलास तीव्र पार्न अनुरोध गरिएको छ ।






















