दाङ । भोटेकोशीमा आएको बाढीले धेरै परिवारको घरबार, सम्पत्ति र वर्षौंको मेहनत बगाएको पीडादायी अवस्थामा रानी केकले बाढीपीडितको लागि १ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।
बाढीले घर तथा सम्पत्ति गुमाएका परिवारको पीडामा केही भए पनि साथ दिन सकियोस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको रानी केकका संस्थापक दीपक काफ्लेले जानकारी दिनुभयो ।
विपत्तिको समयमा पीडितको दुःखलाई आफ्नै दुःख सम्झेर सहयोग गर्नु मानवीय दायित्व भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले दिएको रकम ठूलो नहुन सक्छ तर दुःखमा परेका परिवारलाई आफूहरू एक्लै छैनौँ भन्ने अनुभूति दिलाउन सकियोस् भन्ने हाम्रो उद्देश्य हो ।’
भोटेकोसी बाढीले पुर्याएको क्षतिबाट प्रभावित परिवारको पीडामा साथ दिन विभिन्न क्षेत्रबाट सहयोगको आवश्यकता रहेको भन्दै काफ्लेले सक्नेले आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
‘दुःखमा साथ, विपत्तिमा हात’ भन्ने भावनाका साथ गरिएको सहयोगले विपत्तिमा परेका परिवारको जीवनमा थोरै भए पनि आशाको उज्यालो थप्ने विश्वास रानी केकले व्यक्त गरेको छ ।






















