२०८३ भाद्र २० गते शनिवार

दाङमा एचआईभीको नयाँ सङ्क्रमण घट्यो


दाङ। दाङमा नयाँ एचआईभी सङ्क्रमितको सङ्ख्या घटेको छ । स्वास्थ्य कार्यालय दाङको पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्कले नयाँ सङ्क्रमण निरन्तर घट्दै गएको देखाएको छ । स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा दाङमा ४२ जना नयाँ एचआईभी सङ्क्रमित भेटिएका थिए ।

उक्त सङ्ख्या आर्थिक वर्ष २०८१/८२ मा घटेर ३७ जनामा पुगेकोमा आर्थिक वर्ष २०८२/८३ मा ३१ जनामा झरेको छ । नयाँ सङ्क्रमण घट्दै गए पनि दाङमा एचआईभी सङ्क्रमितको कुल सङ्ख्या भने बढ्दो क्रममा देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा ४२९ जना रहेको एचआईभी सङ्क्रमितको सङ्ख्या २०८१/८२ मा ४५८ पुगेको थियो ।

नयाँ ३१ जना थपिएसँगै आर्थिक वर्ष २०८२/८३ मा यो सङ्ख्या बढेर ४८७ पुगेको स्वास्थ्य कार्यालय दाङको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य कार्यालय दाङका क्षय, कुष्ठ तथा पोषण रोग फोकल पर्सन गजेन्द्र यादवका अनुसार एचआईभी सङ्क्रमितका लागि उपलब्ध एआरटी उपचार सेवामा रहेका व्यक्तिको सङ्ख्या पनि क्रमशः बढेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा ४२९ जना एआरटी सेवामा रहेकोमा २०८१/८२ मा ४५८ जना र २०८२/८३ मा ४८७ जना पुगेका छन्। तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा दाङमा नयाँ एचआईभी सङ्क्रमण रोकथामतर्फ सकारात्मक सङ्केत देखिएको उहाँले बताउनुभयो ।

एचआईभीसम्बन्धी नागरिकमा बढेको सचेतनाका कारण नयाँ सङ्क्रमितको सङ्ख्या ४२ बाट ३१ मा झरेको भन्दै यादवले एचआईभी सङ्क्रमण नियन्त्रण तथा सचेतना कार्यक्रमका लागि यो सकारात्मक उपलब्धि भएको बताउनुभयो । एचआईभी सङ्क्रमितलाई पहिचान गरी उपचारको दायरामा ल्याउने क्रमसमेत बढेको उहाँको भनाइ छ ।

स्वास्थ्य क्षेत्रमा एचआईभीको जोखिम न्यूनीकरणका लागि नियमित परीक्षण, समयमै उपचार, सुरक्षित यौन व्यवहार तथा समुदायस्तरमा निरन्तर जनचेतना आवश्यक रहेको उहाँले बताउनुभयो ।

दाङमा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा एचआईभी परीक्षणसँगै सङ्क्रमितलाई नियमित उपचार सेवा प्रदान गरिँदै आएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार पछिल्लो तीन वर्षमा १९ हजार ४८१ जना गर्भवती महिलाको एचआईभी परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण देखिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस