दाङ । भोटेकोशी बाढीपछि सम्पर्कबिहिन भएका तुलसीपुरका एक जना सम्पर्कमा आएका छन् । तुलसीपुर उपमहानगरपालिका–६ निवासी ४२ वर्षीय टेकबहादुर राना ८ दिनपछि सकुशल परिवारजनको सम्पर्कमा आउनुभएको हो ।
रसुवामा आएको बाढीपछि सम्पर्कविहीन हुनुभएका राना बुधबार (भदौ १७ गते) परिवारको सम्पर्कमा आउनुभएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । राना सम्पर्कमा आएसँगै रसुवामा सम्पर्कविहीन भएका दाङका नागरिकमध्ये हालसम्म ६ जना सकुशल सम्पर्कमा आएका छन् । राना रसुवाको धुन्चे ब्यारेकमा नेपाली सेनामा कार्यरत रहनुभएको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कमा आउने सबै ६ जना पुरुष रहेका छन् । यस्तै, रसुवामा अझै दाङका ५३ जना नागरिक सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ। सम्पर्कविहीन हुनेमा ४४ जना पुरुष र ९ जना महिला रहेका छन्।
रसुवामा आएको बाढी तथा पहिरोपछि सम्पर्कविहीन भएका दाङका नागरिकको खोजी भइरहेको प्रशासनले जनाएको छ । सम्पर्कविहीन व्यक्तिका परिवारजनमा बढ्दो चिन्ताका बीच केही व्यक्ति क्रमशः सम्पर्कमा आउन थालेपछि आशा जागेको छ ।






















