दाङ । गिद्ध संरक्षणका लागि पछिल्लो समय सरकारले थप तीन प्रकारका औषधि बिक्रिमा प्रतिबन्ध लगाएको छ । औषधि व्यवस्था विभागले २०८३ वैशाख १० मा पशुपन्छीको उपचारमा प्रयोग हुने नाइमेसुलाइड, एसिक्लोफेनाक र केटोप्रोफेनमाथि प्रतिबन्ध लगाएको हो ।
पछिल्लो पटक प्रतिबन्धित औषधि कार्तिक १० गतेभित्र हटाउनुपर्ने अन्यथा कानुनी कार्बाही भोग्नुपर्ने नेपाल पंक्षी संरक्षण संघका परियोजना प्रमुख भुपाल नेपालीले बताउनुभयो । नेपालले यसअघि नै डाइक्लोफेनाकमाथि प्रतिबन्ध लगाइसकेको थियो ।
प्रतिबन्ध लगाइएको आदेशविपरीत काम गरेमा नेपालको औषधि ऐन, २०३५ को दफा ३४ को (१) अनुसार तीन वर्षसम्म कैद वा २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने छ ।
१८ औँ अन्तर्राष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवसको अवसरमा पर्यावरणिय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङले शनिबार हेमन्तपुरमा आयोजना गरेको कार्यक्रममा परियोजना प्रमुख नेपालीले प्रकृतिको कुचिकार गिद्धको संरक्षणका लागि सरकारले थप तीन प्रकारका औषधि बिक्रिवितरणमा प्रतिबन्ध लगाएको बताउनुभयो ।
कार्यक्रममा डिभिजन बन कार्यालय दाङका खिम बहादुर केसीले पशुपंक्षिको उपचारमा जथाभावी औषधि प्रयोग गर्दा गिद्ध संरक्षणमा चुनौति देखिएको बताउनुभयो । उहाँले सरकारले पछिल्लो पटक प्रतिबन्ध लगाएका थप तीन वटा औषधिको बिक्रि वितरण गर्न नपाइने बताउनुभयो । उहाँले कार्तिक १० पछि कुनै पनि पसलमा औषधि भेटिएमा कानुन बमोजिम कार्बाही हुने बताउनुभयो ।
पर्यावरणिय दिगो विकास एवं अनुसन्धान केन्द्र दाङका अध्यक्ष डिल्ली बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार बिकास डाँगीलाई गिद्धको संरक्षणमा कलम चलाएको भन्दै नगद ८ हजारसहित सम्मान गरिएको छ ।


























