दाङ । तुलसीपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष रामबहादुर जिसी नेपाली कांग्रेसको लुम्बिनी प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभएको छ ।
जिसी दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा (१) बाट नेपाली कांग्रेसको लुम्बिनी प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । उहाँले शनिबार निर्वाचित भएको प्रमाणपत्रसमेत प्राप्त गर्नुभएको छ ।
नेपाली कांग्रेसभित्र लोकप्रिय नेताका रूपमा परिचित जिसीले ३०३ मत प्राप्त गर्दै लुम्बिनी प्रदेश प्रतिनिधिमा निर्वाचित हुनुभएको हो । उहाँ यसअघि नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधि हुनुहुन्थ्यो ।
लामो समय विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय जिसी स्थानीय तहको राजनीतिमा पनि निरन्तर सक्रिय रहँदै आउनुभएको छ । उहाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा लोकप्रिय मतका साथ वडा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । त्यसपछि २०७९ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
स्थानीय नागरिकका सुख–दुःखमा निरन्तर साथ दिँदै आउनुभएका जिसी जनतामाझ सहज पहुँच र सक्रिय जनप्रतिनिधिका रूपमा परिचित हुनुहुन्छ । स्थानीय तहको नेतृत्वसँगै पार्टी संगठनमा समेत सक्रिय रहँदै आउनुभएका उहाँ नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश प्रतिनिधिमा चयन हुनुभएको हो ।
लुम्बिनी प्रदेश प्रतिनिधिमा निर्वाचित भएसँगै जिसीले पार्टीको प्रदेशस्तरीय संगठन तथा आगामी राजनीतिक गतिविधिमा समेत थप महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । प्रदेश प्रतिनिधिमा निर्वाचित जिसीले निर्वाचित गराउन भूमिका खेल्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।



























