२०८३ कार्तिक १ गते शनिवार

यात्रुले खाने खानाको सुधारमा निरन्तर प्रयास भइरहेको छ : हमाल

दाङ। त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले यात्रुले खाने खाना सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । तुलसीपुरमा बिहिबार भएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष हमालले लामो दुरीमा चल्ने बसका यात्रुले गुणस्तर नभएको खाना खानुपरेको गुनासो गर्ने गरेकाले सुधारको अधिकतम प्रयास गरेको बताउनुभयो ।

उहाँले दशैँ अघि पनि होटेलहरुमा चेकिङ गरिएको र सुधारका लागि सुझाव दिएको बताउनुभयो । उहाँले दशैँपछि पनि खानाको गुणस्तर, मूल्य सुधार लगायतका कुरा सुधारका लागि निरन्तर लाग्ने बताउनुभयो ।

उहाँले गाडीलाई सकेसम्म एउटै होटेल भएको ठाउँमा गाडी नरोक्ने गरी पहल गरिएको बताउनुभयो । संघिय राजधानी काठ्माण्डौँ र भारतमा चल्ने गाडीका यात्रुले खानाको विषयमा बढी गुनासो गर्ने गरेका छन् ।

उहाँले चाडपर्वको समयमा यात्रुको चापलाई मध्यनजर गरी प्रालिका करिब ३ सय गाडी संचालन भइरहेको बताउनुभयो । अहिलेको अवस्थामा संघिय राजधानी काठ्माण्डौँ, भारतको नयाँदिल्ली लगायतका ठाउँबाट दाङ भित्रने सवारीमा यात्रुको चाप भएपनि ति ठाउँमा जाने यात्रु नहुँदा पनि बस अनिवार्यरुपमा संचालन गरिएको उहाँले बताउनुभयो ।

उहाँले प्रालिमा केहि समयपछि सुविधायुक्त बस थपिन लागेको बताउनुभयो । उहाँले लामो दुरीमा चल्ने गाडी सुविधायुक्त हुने बताउनुभयो । त्रिसिसिद्धेश्वरी राप्ती यातायात प्रालिमा करिब ७०० गाडीहरु संचालनमा रहेका छन् । अध्यक्ष हमालले प्रालिमा रहेका पुराना गाडीहरु हटाउने काम पनि गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले प्रालिले सामाजिक योगदानमा पनि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । अध्यक्ष सुवेदीले यातायात क्षेत्र सार्वजनिक संस्था भएकाले दिगो हुनुपर्नेमा जोड दिनुभयो । त्रिसिद्देश्वरी राप्ती यातायात प्रालिका प्रशासनिक सचिव नारायणप्रसाद न्यौपानेको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस